Girl in a jacket

बुद्धशान्तिका स्थानीयको गुहार : सरकार हात्तीबाट बाँच्नै मुस्कील भयो

बुधवारे / जंगली हात्ती दिनहुँ गाउँ पस्न थालेपछि बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् ।

हात्ती पीडितहरुले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन बन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामूदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको रक्षाको माग गरिएको छ ।

हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिले बुझाएको ज्ञापन पत्रमा जंगली हात्तीले हालै वडा नम्बर १,२ र ३ मा २५० घर भत्काइदिएको र रु. १२ लाख मूल्यभन्दा बढीको अन्नबाली खाइदिएको उल्लेख गरिएको छ ।

हात्तीको आक्रमण हुने त्रासले लामो समयदेखि स्थानीयले रातको समयमा नसुती बस्नु पर्दा महिला तथा बालबालिकाहरुमा मनोबैज्ञानिक असर पर्न थालेको पीडितहरुले मागपत्रमा उल्लेख गरेका छन् ।

उनीहरुले स्थानीयको जीउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा सुरक्षा गस्ती टोलीको व्यवस्था गर्नुपर्ने, वनक्षेत्रको वरिपरि सोलार फेन्सिङ जडान गरी दीर्घकालीन रुपमा हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, वस्तीमा आउने हात्तीलाई लखेट्न पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग माग गरेका छन् ।

समितिका सचिव सीताराम बाँस्तोलाले हात्तीले गरेको क्षतिको क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो, राहत पर्खन लामो समय लाग्ने र क्षतिको मूल्याङ्कनभन्दा कम राहत राज्यले प्रदान गर्ने प्रक्रियाले पीडित झन् पीडित हुनुपरेको बताए ।

हात्ती पीडित संघर्ष समितिले जायज मागहरुको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिन समेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ ।

समितिले आजै बुद्धशान्ति गाउँपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सशस्त्र प्रहरी बल, श्रीनाथ गण चारआली र राष्ट्रिय अनुसन्धान कार्यालय झापामा समेत ज्ञापन पत्र बुझाएका छन् ।

हात्ती आक्रमणबाट आजै मात्र मेचीनगर–१३ मा एकजना वृद्धको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणमा हालै दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएको वाँस्तोलाले बताए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

इलाममा माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष एमालेमा प्रवेश

Read Next

स्थानीय तहको निर्वाचन जेठ ४ मा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *