Girl in a jacket

धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

कमल नदीको अस्थायी तटबन्धकालागि बाँसको पाइलिङको अनुगमन गर्दे शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपाने । तस्बिर : विनोद सापकोटा / सताक्षी न्युज ।

पाराबारी / झापाको कमल नदीको कटानले बर्सेनी सयौँ बिघा खेती योग्य जमिन बगर बनाउँछ । वर्षाको सिजन सुरु हुने बेला देखिनै यहाँका स्थानीयलाई घर खेत जोगाउन मुस्किुल हुन्छ ।
यो वर्ष पनि नदीमा आएको बाढीले शिवसताक्षी नगरको ३ नम्बर वडामा १५ विघा जग्गा बगर बनायो । घरमा पालेका हाँस, कुखुरा, बाख्रा बाढीले बगायो । मुस्किलले स्थानीयले भागेर ज्यान जोगाए । नदी तटीय क्षेत्रका नागरिक वर्षेनी त्रसित छन् । जेठ लागे देखिनै नदीमा पानीको बहाव बढ्न थाल्दा यहाँका बासिन्दा र वर्षभरी खान रोपेको धान खेती जोखिममा पर्ने गरेको छ ।
गएको असारमा आएको बाढीले खेत बगाउँदा स्थानीय १३ घर परिवार बिस्थापित भए । नदीमा पानीको सतह घटेपछि उनिहरु पुन आफ्नै घर फर्किएको वडा अध्यक्ष भाष्कर न्यौपानले बताए । ‘बाढी गाँउ पस्दा टुलु टुलु हेर्नुको विकल्प थिएन,’ उनले भने, ‘अहिले पानीको सतह घटेपछि बाँसको पाइलिङ स्पोर गरेर अर्को भेलबाट गाँउ जोगाउने प्रयास भइरहेको छ ।’ स्थानीयका अनुसार वडा अध्यक्षकै पहलमा कटान क्षेत्रमा बाँसको पाइलिङ स्पोर लगाइएको हो ।
कमल नदीको कटान रोक्नका लागि जनताको तटवन्ध डिभिजन कार्यालय गैडेले बाँसको पाइलिङबाट नियन्त्रणको प्रयास थालेको हो । वडा अध्यक्ष न्यौपानेका अनुसार तटबन्धका लागि डिभिजन कार्यालयले करिव २० लाख खर्च गरेको छ । ‘नदीको छ फिट गहिराइ सम्म बाँसको खुट्टी गाडिएको छ । तीन फिटको फराकिलो दुरीमा गाडिएको खुट्टीलाई तीन तह सम्म बाँसकै आग्ला लगाइएको छ ।’ पानीको बेग नियन्त्रणका लागि आग्लामा बाँसकै झिक्रा लगाइन्छ । उनले भने ‘त्यसले बाढी संग बगेर आउने झ्यासलाई रोक्छ र पानीको वेग नियन्त्रण गर्छ ।’

बाँसकाे पाइलिङ ।

‘नदीको कटान नियन्त्रणका लागि हरेक वर्ष बर्खामा नदी बस्तीमा पस्नबाट जोगाउन जैविक तटबन्ध गर्ने गरेका छौ । तर त्यसले थाम्दैन । यसरी त्रासमा कति दिन यहाँ बस्न सकिएला ?’ स्थानीय भीमा सुनुवारले भनिन् । जैविक तटबन्धका लागि स्थानीयले वर्षेनी समय र पैसा बराबर सकिएको छ । तर, एकै भेलमा स्थानीयको आर्थिक र भौतिक लगानी बालुवामा पानी जस्तै हुने गरेको स्थानीयले बताएका छन् ।
कमल नदीको बर्षेनीको त्रासबाट जोगाउन स्थानीयले सरकार संग स्थायी तटबन्धको प्रवन्ध मिलाउन सरकार संग माग गरेका छन् । नदीको पश्चिम क्षेत्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो भने कटान प्रभावित क्षेत्र एमालेकै नेता एलपी साँवा लिम्बुको निर्वाचन क्षेत्र हो ।
निर्वाचन ताका मत माग्न गाँउ पसेकाबेला नेताले कमल नदीमा स्थायी तटबन्ध गर्ने भनेर मत लिने गरेका छन् । तर निर्वाचन जितेपछि बोलेका कुरा विर्सिने गरेको स्थानीय विपीन भट्टराईले बताए । कमल नदीमा स्थायी तटबन्धकालागि वडा र नगरको बजेटले भ्याउँदैन । नदी कटान नियन्त्रणको स्थायी समाधानकालागि प्रदेश र संघ सरकारकै पर्खाईमा स्थानीय बाढी प्रभावित रहेका छन् ।

स्थानीयकाे खेत बाढीले बगाएपछी नियन्त्रणकालागि शिवसताक्षी नगरपालिका वडा नम्बर ३ मा पर्ने कमल खाेलामा गरिएकाे पाइलिङ
कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

वडा अध्यक्ष फेवादिन नेतृत्वको पहिलो बैठकको निर्णय कार्यान्वयन

Read Next

शिवसताक्षी २ का वडा अध्यक्षको यस्तो उद्घोष : सरकारी मोटरसाईकल नचढ्ने, आर्थिक सुविधापनि विपन्नलाई दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *