झिलझिले / युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।
वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्राउ गरिएको थियो । शुक्रबार राति हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।
राईले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको बसन्तपुर बजारमा पुर्याएको जाहेरीमा उल्लेख छ । घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबर्जस्ती गरेको पीडितको भनाइ छ । पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।
घटना भएको स्थान तेह्रथुम जिल्ला भएकोले पक्राउ गरिएका राईको थप कारबाही प्रक्रियाका लागि तेह्रथुम प्रहरीलाई बुझाइने अधिकारीले जानकारी दिए । राई गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।