झापा/ कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीमा आत्महत्या गर्ने तीन किशोरीको पहिचान खुलेको छ । उनीहरुले एउटै रुखमा झुन्डिएर आईतबार सामूहिक आत्महत्या गरेका थिए ।
पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीहरुले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
स्थानिय पंचम गणेशकी १६ वर्षिया छोरी करिना , पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना आज विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए । उनीहरु हिजो दिउँसोदेखि हराएका थिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् ।
कचनकावल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी अनुसार एकजनाले गाई बाँध्ने दाम्लो , अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् । ती तीनैजना किशोरीहरु चिया बगानका मजदुर हुन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता पाठकले जानकारी दिए ।