Girl in a jacket

नगर प्रमुख थोप्राको छलाङ्ग : पहिल्यै वर्ष ८७.५ प्रतिशतले बढ्यो वडा सिलिङ बजेट

नगर प्रमुख रोषन थोप्रा

दुधे / झापाको शिवसताक्षीमा वडा सिलिङ बजेट बढेको छ । नगरका ११ वटै वडाले दामासाहीले ७० लाख बजेट पाउने भएका छन् । अतिरिक्क्त ५ लाख पनि वडाले पाउने भएको छ । तर वडा सिलिङ बजेटमा भने ७० लाख मात्र उल्लेख हुने छ ।

वडाले ७० लाखको योजना बनाउँदा बाँकी रहेको ५ लाखको योजना नगर कार्यपालिका र वडा कार्यपालिकाले आवश्यक्ता ठानेका वडाका योजनामा खर्च हुने समाचार श्रोतले बताएको छ ।

अघिल्लो वर्ष वडाले ४० लाख बजेट पाएको थियो । स्थानिय तहको निर्वाचन पछि नगरले नयाँ नेतृत्व पाएकै वर्ष वडा सिलिङ बजेट ह्वात्तै बढेको छ । वडा सिलिङ बजेट ८७. ५ प्रतिशतले बढेको नगरकार्यपालिकाका प्रमु्ख मेघाहाङ थोप्रा रोषनले बताए । ‘भएको श्रोत साधन बाडफाँड गर्नलाई किन कन्ज्युँस्याई गर्ने,’ नगर प्रमुख थोप्राले भने ।

बुधबार नगरमा बसेको नगर कार्यपालिकाको बैठकले बजेटको मस्यौदा माथि दफावार छलफल गरेको थियो । अब असार १० गते हुने १० औ नगर सभाले प्रस्तुत बजेट अनुमोदन गर्ने छ ।

आर्थिक वर्ष ०७९/०८० का लागि नगर कार्यपालिकाले वडा सिलिङ बजेट वृद्धी गरेपछि वडामा नयाँ कार्यक्रम थपिने वडा अध्यक्षहरुले बताएका छन् । साविकको भन्दा फराकिला कार्यक्रम वडामा संचालन हुने वडा नम्बर ८ का वडा अध्यक्ष सन्त कुमार फेवादिनले बताए । उनले भने, ‘थोरै बजेटले थोरै र धेरै बजेटले धेरै कार्यक्रम त अवश्य हुन्छ नी ।

वडा नम्बर ११ का वडा अध्यक्ष बहादुर आङवो पनि वडा सिलिङ बजेट बढेकोमा खुसी छन् । यस अघि वडा सदस्य हुँदाका अधुरा योजना पुरा गर्न वडा अध्यक्ष भएपछि बढेको सिलिङ बजेट सहयोगी हुने उनले बताए । निर्वाचन ताका मत माग्न टोल टोलमा पुग्दा उम्मेद्वारले वडा सिलिङ बजेट बढाउने बताएका थिए । त्यसै अनुरुप सिलिङ बजेट बृद्धि भएको नगर प्रमुख थोप्राले बताएका छन् ।

भएको श्रोत साधन बाडफाँड गर्नलाई किन कन्ज्युँस्याई गर्ने ?

शिवसताक्षी नगर कार्यपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोषन)

आगामी आर्थिक वर्षमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्र शिवसताक्षी नगरपालिकाको प्राथमिकतामा परेको छ । नगरले शिक्षा क्षेत्रमा १ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । यो गत वर्षको भन्दा ६५ लाख वढी हो ।

विद्यालय अनुदान, बाल शिक्षिका/सकाहरुको थप तलव, गत आवको प्राविधिक शिक्षाको छात्रवृद्धी, सामुदायिक तथा निजी विद्यालय शिक्षकहरुको तालिम, विद्यालय मर्मत संहार तथा मात्रृ भाषा अध्यापन लगायतका कार्यक्रमहरुकालागि सबै भन्दा धेरै बजेट समेटिएको नगर प्रमुख थोप्राले बताए ।
यस्तै स्वास्थ्यका लागि नगरले १ करोड बजेट विनियोजन गरेको छ । यस अघि स्वास्थ्यमा ८० लाख मात्र बजेट विनियोजन भएको थियो । औषधी खरिद, औजार उपकरण खरिद, विपन्न स्वास्थ्य उपचार सहयोग, स्वास्थ्य स्वयमं सेविका प्रोत्साहन सुविधा, जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन, दीर्घ रोगी स्वास्थ्य उपचार भुक्तानीका लागि बजेट विनियोजन भएको हो ।

यता कृषिका लागि नगरले १ करोड ५ लाख बजेट विनियोजन गरेको छ । यो साविकको बजेट भन्दा ५ लाख मात्र बढी हो । यस्तै सामाजिक विकासका लागि नगरले ४० लाख, पशु पंक्षी विकासका लागि ६५ लाख, महिला तथा बालबालिकाका लागि १५ लाख, आयुर्वेद औषधालय दुधेका लागि १६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

यता नगरका सहकारी संस्थाको उत्थानका लागि ५ लाख ५० हजार बजेट निनियोजन भएको कार्यपालिका बैठकमा सहभागि बहादुर आङवोले बताए ।
यो वर्षदेखि प्रकोप व्यवस्थापन कोष पनि नगरमा स्थापना भएको छ । नगरले प्राकृतिक प्रकोपको कारणबाट विपत्मा परेका नगरबासीका लागि ३० लाख बजेट विनियोजन गरेको छ ।

सुचना प्रविधिका लागि नगरले १५ लाख बजेट छुट्याएको छ । नगर, वडा कार्यालय, स्वास्थ्य कार्यालयमा थप इन्टरनेट, सिसि क्यामेरा तथा सामुदायिक विद्यालयमा ई-हाजिरी जडान यो बजेटबाट हुनेछ ।

नगरको पञ्जिकरण शाखाका लागि १ लाख बजेट विनियोजन भएको छ भने राजश्व शाखाका लागि ५ लाख बिनियोजन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरले यो वर्ष ५ लाख विनियोजन गरेको छ ।

संघिय समपुरक कोषका लागि २ करोड ४० लाख बजेट बिनियोजन भएको छ । यो नगरको नियमित बजेट हो । सडकबोर्ड संगको लागत सहभागितामा नगर गौरवको रिङरोडको योजना यो बजेटबाट संचालन हुने छ ।

प्रदेश समपुरक कोषका लागि झिलझिले बस पार्कको योजना नियमित गर्न ५० लाख विनियोजन भएको छ । विपत् पीडितलाई राहतका लागि २० लाख बिनियोजन भएको छ । आगलागि, बाढी पहिरो चट्याङ, भुकम्प तथा जंगली जनावर पीडितले यो रकम सहयोग स्वरुप नगरबाट पाउँने छन् ।

यस्तै कालोपत्रे, नाला निर्माण कार्यक्रममा २ करोड विनियोजन भएको छ । यसमा नगरबाट ७० प्रतिशत र उपभोक्ताबाट ३० प्रतिशत लागत सहभागिता हुने छ । यता दोमुखा स्वमिङ पुल क्याफे, रेष्टुरोन्ट निर्माण , अधुरो चिल्ड्रेन पार्क निर्माणका लागि ४० लाख विनियोजन भएको छ ।

सतासीधाम धार्मिक पर्यटकिय क्षेत्र पुर्वाधार निर्माणका लागि १० लाख र चिल्लागढ पोखरी माङहिम अन्तर्गतका अधुरो पुर्वाधार निर्माणका लागि १० लाख विनियोजना भएको छ ।

नगर भित्रको सडक, पुल, सार्वजनिक भवन, खानेपानीका ंसंरचना, सार्वजनिक भौतिक संरचना मर्मत संहारका लागि १ करोड विनियोजन भएको छ । धरधरे नियन्त्रण तथा नदी तटबन्धनका योजना संचालन गर्न ८० लाख विनियोजन भएको छ ।

बारुण यन्त्र खरिदका लागि १ करोड विनियोजन भएको छ । यो नयाँ योजना हो । आदिबासी जनजाती बहुसांस्कृतिक संग्राहालय निर्माण निरन्तरताका लागि १० लाख विनियोजन भएको छ ।

मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागि ७५ लाख बजेट विनियोजन भएको छ । उज्यालो नगर अभियानमा नगरले पहिलो पटक ५० लाख बजेट विनियोजन गरेको छ । यो नयाँ कार्यक्रम हो । बजारमा सडक बत्ति जडान गरि व्यवस्थापनका लागि समुदायलाई हस्तान्तरण गर्न यो रकम बिनियोजन भएको नगर प्रमुख थोप्राले जानकारी दिए ।

नगर छात्रबृत्ति कार्यक्रमका लागि १५ लाख विनियोजन भएको छ । यस्तै दुधे रंगशाला निर्माण निरन्तरताका लागि ५० लाख बजेट बिनियोजन भएको छ । माइधारको केएनके खेल मैदानको घेराबारा निर्माणका लागि ५ लाख बजेट बिनियोजन भएको छ ।

खानेपानी अन्तर्गतका योजनामा ३० लाख बजेट बिनियोजन भएको छ । नगर कार्यपालिका कार्यालय परिषर सुधार योजनाका लागि ४० लाख बजेट बिनियोजन भएको छ । यता बेरोजगार युवाहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम पनि यो वर्ष देखि नगरमा लागु हुने भएको छ । नगर प्रमुख थोप्राका अनुसार यसका लागि २० लाख बजेट बिनियोजन भएको छ ।

ज्ञान घर व्यवस्थापनका लागि ११ लाख बजेट बिनियोजन भएको छ । रंगियाथान बजार हुँदै रिङरोड बजार जोड्ने सडक कालोपत्रेका लागि २५ लाख बजेट बिनियोजन भएको छ । न्यायिक समितिको क्षमता विकास कार्यक्रमका लागि ५ लाख बजेट बिनियोजन भएको छ ।

भुमि व्यवस्थापनका लागि २० लाख, संचार व्यवस्थापनका लागि १० लाख, सडक दुर्घटना न्युनिकरणका तथा अबैध कार्य नियन्त्रणका लागि राजमार्गका मुख्य ठाँउमा सिसि क्यामेरा जडानका लागि ३० लाख बजेट बिनियोजन भएको छ ।

ल्याण्डफिल साइड निर्माण निरन्तरताका लागि २० लाख, नगर खेलकुद विकासका लागि २० लाख र अन्य योजनाहरु भुक्तानी दायित्वमा रहेका वडा नम्बर ९ र १० को भवन निर्माणका लागि ७६ लाख गरेर कुल २७ कराेड .विकास बजेट विनियोजन भएको छ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

१ नम्बर प्रदेश सरकारको बजेट : साविकको भन्दा २० प्रतिशत बढ्ने

Read Next

ट्याक्टरको ठक्करबाट अलिको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *