Girl in a jacket

शिविर कुर्दै बुढेसकाल

मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएकी ८७ वर्षीया तुलमाया तामाङ । तस्बिर : अन्नपूर्ण पोस्ट

झापा / छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो। अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जीवनको उर्वर समय बिताइन्। यो बीचमा न भुटान फर्किन सकिन् न त नेपाली भन्न सक्ने कानुनी आधार प्राप्त गरिन्। भन्छिन्, ‘न यताको न उताको, बाटोको जुत्ताजस्तै हाम्रो जिन्दगी।’ छाडेर जाने आफन्त तेस्रो देश पुनर्वासमा गए। नौ जनाको परिवारमा शिविरको झुपडी कुर्ने राई दम्पती र वृद्धा आमा आशामती मात्रै छन्।

छत्रमायाका दुई छोरा अमेरिका भासिएको तीन वर्ष भयो। उनीहरू फोन गर्न समय मिल्दैन भन्छन्। मुस्किलले एक महिनामा सन्तानसँग बात मार्छ राई दम्पती। भन्छिन्, ‘छाडेर जानेहरूलाई छाडिनेको माया लाग्दैन सायद। छाडिसकेको गुँड सम्झेर को पो आउला र ?’

छत्रमाया चार वर्षअघि पति मनबहादुरसँग आफन्त भेट्न भारतको सरलपाडा पुगेकी थिइन्। फर्किंदा लाभरघोटे जंगलमा बम विस्फोटमा परे। उनीहरू नराम्रोसँग घाइते भए। मनबहादुरलाई त ६ महिना अस्पताल राख्नुपर्‍यो। बिरामी मनबहादुर र वृद्धा सासू आशामतीसँगै दिन काटिरहेकी छन् छत्रमाया।

भुटानको गाउँको माया लागिरहन्छ। त्यहाँ आफ्नै घर थियो। जग्गा थियो। पाखो नै भए पनि भकारीभरि अन्न फल्ने बारी थियो। गाउँ सम्झिँदै भन्छिन्, ‘कोदो, गहुँ, मकै खुब फल्थ्यो। पाखाभरि पहेंलपुर सुन्तला झुल्थे। यहाँ त एउटा रूखसमेत रोप्न पाइएको छैन। अर्काको ठाउँमा जति नै गरे पनि आफ्नो नभइने रहेछ।’

उनीहरूले असुरक्षा महसुस गरेपछि भुटान छाडेका थिए। काखे बच्चाहरू बोकेर कैयौँ दिन जंगलै जगल हिँडे। जीवनभरको कमाइ दुइटा डोकोमा बोके। गाउँ छाडेको २० आँै दिनमा मात्रै उनीहरू नेपाल आइपुगेका थिए।

यो ३० वर्षमा न कुनै आधिकारिक परिचय बन्यो आशामतीको न त प्रमाणित कुनै कागजात। ८१ वर्र्षीया आशामतीले वृद्ध भत्तासमेत पाउँदिनन्। उनीहरू आउँदा जंगल फाँडेर बनाएको स्याउलाको घर अहिले बाँसको चोयाले अड्याइएको छ। रातोमाटोले लिपपोत गरेर चिटिक्क बनाइएको छ। अलिअलि रकम जम्मा गरुँभन्दा बैंक खातासम्म खोल्न पाइँदैन। आफ्नो नाममा घरजग्गा जोड्ने रहर अधुरै छ। नागरिकता अभावमा जग्गा पास गर्न सक्ने अवस्था छैन।

आशामती भन्छिन्, ‘उमेर ढल्किँदै गएपछि आफ्नाहरूको रहर लाग्ने र’छ। आफ्नो घर, आफ्नो सन्तान, परिवार। सानो होस् आफ्नै घरमा मर्न पाए पनि हुन्थ्यो।’ उनीहरूजस्तै धेरै भुटानी शरणार्थीले आफ्नोपनको आभाष गर्न पाएका छैनन्।

मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका अधिकांश घरमा वृद्धवृद्धा देखिन्थे। बाँसबाट बनेका अधिकांश घरमा ताला लागेको थियो। धेरै भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत विदेश उडिसके। परिवारको माया, विदेश जान नचाहने, भुटान फर्कन चाहने र केही अपांगता व्यक्ति भने पुनर्वासमा जान सकेनन्। उनीहरू शिविरमै अलमलिए। टाढिएका आफन्त र सन्तानसँगको पुनर्मिलनको आसमा बसिरहेका उनीहरू केही उदास र हतास देखिन्थे।

बिहेपछि अनागरिक
शिविरको पल्लो कुनामा ढुंगा खात लगाउँदै गरेको अवस्थामा भेटिएकी थिइन्, खोटाङकी अनिता भुजेल। उनी बिहे नगर्दासम्म नेपाली थिइन्। तर, भुटानी शरणार्थी केदारनाथ भुजेलसँग बिहे गरेपछि नेपाली नागरिक रहिनन्। उनको नाम पछाडि ‘भुटनिज’ जोडिएको छ। तर, उनलाई अहिलेसम्म थाहा छैन भुटान कहाँ छ र कस्तो छ ? उनी त्यहाँको नागरिक बन्न पाउँछिन् वा पाउँदिनन् ?

विराटनगर आफन्तकहाँ गएको बेला केदारनाथसँग भेट भएको थियो २० वर्षअघि। उही उनीहरूले मन साटे। मायाले परिचय र देश खोजेन उनीहरू एक भए। बिहेपछि उनको नेपाली परिचर गायवजस्तै भयो। बाबुआमा सानैमा गुमाएकी उनी दाजुभाइ र आफन्तसँग पनि सम्पर्कमा छैनन्। जन्मेको घरमा केही बाँकी छैन। परिवार जस्तै छिन्नभिन्न भयो उनको नेपाली परिचय पनि।

मानबहादुरको ठूलो मन
शिविरभित्रै एक्कासि बाटोमा देखा परिन् एक महिला। रातो स्विटर र गुलावी मेक्सीमा चिटिक्क देखिएकी उनी अस्वाभाविक तरिकाले हाँसिरहेकी थिइन्। उनी रहिछन् जोगमाया तामाङ। लामो कपाल टुप्पोमा बाँधेर यताउता गरिरहेकी उनले केही असहज हर्कत देखाइरहेकी थिइन्। घरी फूलको झाङमा बसेर जोडले हाँस्थिन् त घर नबुझ्ने भाषामा हामीलाई गाली गरिरहन्थिन्। बर्बराइरहन्थिन्।

कुरा गर्न खोज्दा उनी दौडिएर घरभित्र पसिन्। घरभित्र ओछ्यानमा ८७ वर्षीय तुलमाया तामाङ सुतिरहेकी थिइन्, जो जोडजोडले खोकिरहेकी थिइन्। नजिकै ओछ्यानमा अर्की महिला पनि थिइन्।

यो घर मानबहादुर तामाङको रहेछ। उनी दुई दिदी र आमाको स्याहार गरेर नेपालमै बसिरहेका छन्। उनका दिदीहरू मानसिक समस्याबाट पीडित छन् भने आमा बिरामी। नजिकै रहेको बासको किचनमा भित्रबाट ढोका लगाएर खाना बनाइरहेका थिए, उनी। उनी एक्लै घरको सबै काम सक्छन्, बिरामी आमा र दिदीहरूलाई ख्याल गर्छन्।

परिवारसहित सन् १९९२ मा नेपाल आएका मानबहादुर त्यसपछि फर्किएर भुटान गएका छैनन्। उनका दुई छोरा र पत्नी ७ वर्षअघि अमेरिका उडिसके। आमा र दिदीहरूको मायाले बिदेसिन नसकेका मानबहादुर आफ्नै परिवारबाट भने टाढिएका छन्। विदेशको सुख, सपना र परिवारको माया त्यागेर यतै रमाएका मानबहादुर फर्केर आफ्नै गाउँ जान चाहन्छन्।

भुटानी नागरिक सन् १९९० देखि नै नेपालमा शरणार्थीका रूपमा आउन थालेका हुन्। नेपालीभाषी भुटानीलाई त्यहाँको सरकारले यातना दिने, दुःख दिनेजस्ता कार्य गरेपछि उनीहरू देश छाडेर हिँडे। भुटानी शरणार्थीको सहयोगमा सुरुदेखि यूएनएचसीआरले सहयोग गर्दै आएको थियो। शरणमा आएकाको मरण गर्न हुन्न भन्ने मनसायस्वरूप नेपालले उनीहरूलाई बस्न जग्गा उपलब्ध गराएको थियो। यूएनएचसीआरका अनुसार सन् १९९१ देखि भुटानी शरणार्थी नेपाल प्रवेश गर्न थालेका थिए। यो संख्या १ लाख २० हजारको संख्यामा थियो।

शरणार्थी समस्या सल्टाउन नेपाल-भुटानबीच १५ पटक वार्ता भयो। तर, भुटान उदार नदेखिएपछि समस्या समाधानको विकल्पका रूपमा सन् २००७ मा तेस्रो देश पुनर्वासको ढोका खुलेको थियो। १ लाख १३ हजार शरणार्थी पुनर्वास भएर अमेरिका, क्यानडा, डेनमार्क, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, अस्टे«लिया र बेलायत गएका छन्। झापाको दमक बेलडाँगी र मोरङको शनिश्चरेमा गरी करिब ६ हजार ५ सय भुटानी शरणार्थी बाँकी छन्। उनीहरू अधिकांश वृद्घ भइसकेकाहरू भने स्वदेश फिर्तीको आसमा छन्। करिब एक हजार जनाले अझै शरणार्थीको दर्जा पाएका छैनन्।

तेस्रो देश पुनर्वास कार्यक्रम पनि सन् २०१६ देखि बन्द छ। शरणार्थीलाई प्रदान गरिँदै आएको रासनपानी भत्ता, लत्ताकपडा, शिक्षा, स्वास्थ्यलगायत सुविधासमेत रोकिएको छ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रतिगमन बिरुद्ध सडकमा ओर्लिए मेचीनगरका युवा

Read Next

चारआली सडक खण्डमा दुर्घटना हुँदा एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box