Girl in a jacket

पछिल्लो अपडेट :

  • September 23, 2021

बाढीका कारण शिवसताक्षीका ५० घर उच्च जोखिममा

शिवसताक्षी / कन्काई नदीमा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को एउटा सिङ्गो बस्ती डुवानको उच्च जोखिममा परेको छ । सो क्षेत्रका कम्तिमा ५० घर जोखिममा रहेका छन् ।

हात्तीसार दक्षिण को भेलामुनी र बाल कल्याण आधारभूत विद्यालय पूर्वको मानव बस्ती बाढीको कटानका कारण उच्च जोखिममा परेको वडा अध्यक्ष सत्य नारायण राजवंशीले बताए । बाढीबाट बस्ती जोगाउनका लागि निर्माण गरिएको बाँध हिजो रातिदेखि परेको वर्षाका कारण आएको बाढीले कटान गर्न थालेपछि सो वडाको मानवबस्ती जोखिममा परेको वडा अध्यक्ष राजवंशीले जानकारी दिएका छन् ।

वडा अध्यक्ष राजवंशीले भने, ‘बाँधको अग्रभागमा ढुङ्गा सहितको जाली निर्माण गरेर बनाइने पनि भित्री भाग बालुवा भएका कारण त्यस भित्रबाट पानी पसेर जतिसुकै बेला बाँध भत्किन सक्छ ।’ जनताको तटबन्ध कार्यालय गैंडे माइधारले गत वर्ष मात्र बाँध निर्माण गरेको उनले बताएका छन् ।
कटान र डुवानका कारण शिवसताक्षीको रिङरोड, विद्यालय, मठमन्दिर पनि जोखिममा छ । ‘हामीले रेडक्रस, जिल्ला प्रशासन कार्यालय झापा र शिवसताक्षी नगरपालिका सहित सुरक्षाका सबै अंङ्गलाई यहाँको बस्तु स्थितीका बारेमा जानकारी गराएका छौ,’ वडा अध्यक्ष राजबंशीले भने ।

सम्भावित खतराबाट हुन सक्ने स्थानीयवासीको विस्थापन व्यवस्थापनका लागि वडा कार्यपालिकाले आवश्यक तयारी सुरु गरेको अध्यक्ष राजवंशीले बताए । कनकाईको भंगालोको धार पहिले नै परिवर्तन गर्न सक्ने कुनै पनि उपाय सरकारी पक्षसँग छैन । नदीमा पानीको बहाव उच्च भएकाले नदीभित्र पसेर काम गर्न वा स्काभेटर प्रयोग गरेर कटान नियन्त्रणको कुनै उपाय अपनाउन नसकिने वडाअध्यक्ष राजवंशीले बताएका छन् । बाढीले कटान नियन्त्रणका लागि बनाइएको बाँसको पाइलिङ बगाएको छ ।

विगत दुई दिनदेखि लगातार वर्षा भइरहेको कारण कनकाई नदीमा पानीको बहाव बढ्न थालेको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

उनले नगरको वडा नं. ५ को हात्तीसार क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेको बताए । वडा नं. ६ को ढकालपुर, ७ को झारबारी, ९ को बैशाबाडी र १० को कनकाई पुल नजिक बाढीले क्षति पुर्याउन सक्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी झापाले पूर्वानुमानमा आधारित आपतकालीन बाढी पूर्वतयारी अन्तर्गत कनकाई जलाधारका चार पालिका कनकाई, झापा, शिवसताक्षी र गौरीगञ्जमा एक हजार ६६५ घरधुरी बाढीको उच्च जोखिममा भएको जनाएको छ ।

बाढीबाट उच्च जोखिममा रहेका घरधुरीको डिजिटल रजिस्ट्रेसन गर्नका लागि शुक्रवार कनकाई जलाधार क्षेत्रमा पर्ने चार वटै पालिकामा नेपाल रेडक्रस सोसाइटी झापाले समन्वय बैठक गरिएको रेडक्रसका झापा अध्यक्ष लोकराज ढकालले बताएका छन् ।

उता गौरिगञ्ज गाँउपालिकाको वडा नम्बर १ कुन्जीबारी पूर्वको होकलबाडीमा कनकाईको पानी पस्न थालेको छ । केहि घर डुवानमा परेको वडा अध्यक्ष कार्तिकलाल राजबंशीले बताए ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

शिवसताक्षी नगरको खेलकुद समितिले दियो बन्दीलाई खेलकुदका सामग्री

Read Next

घर भत्किदा एकको मृत्यु, दुई घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *