Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

‘कोरोनाका कारण स्वास्थ्यमा समस्या भए मलाई फोन गर्नुहोस्’ : नगर प्रमुख शेर्मा

झिलझिले / ‘सञ्चै हुनुहुन्छ ?’ ‘हजुर, सञ्चै छौं । बेला बेला ज्वरो ह्वात्तै बढ्छ । खानामा अरुची हुन्छ । यो बाहेकको अन्य समस्या छैन ।’

यो संवाद हो शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र कोरोना संक्रमित गोपीकृष्ण पोखरेलको । पोखरेलको घर शिवसताक्षी नगरपालिका वडा नम्बर १ को शुक्रबारे बजारमा पर्छ । उनको परिवारका सबै ६ जना संक्रमित छन् । पोखरेलको ८८ वर्षीया आमा गंगादेवी लाईपनि संक्रमणले अछुतो राख्न सकेन । उनी भन्छिन्, ‘कोरोना भयो अरे भन्छन् । क्या हो कोरोना म जान्दिन । रुचेको खाने गरेको छु । खाना रुचि भएपछि जेसुकै रोग लागोस् मलाई मतलब छैन ।’

रेडियो, टिभिमा कोरोनाको कारणले मृत्यु भएको खबर सुन्दा नरमाइलो लाग्ने गरेको उनले बताइन् । ‘हेलचेक्राइ गरे त मरी हालिन्छ नि,’ उनले भनिन् । जुनसुकै रोग लागे पनि परेजमा बसे निको हुन सकिने उनले आफ्नो अनुभव सुनाइन् । उनले औलो रोग पनि पचाएकी थिइन् ।

पोखरेलको परिवारलाई स्थानीय छिमेकीहरुले पनि हौसला दिएका छन् । सागसब्जी किनेर ल्याइदिने, सकिएका औषधि बजार गएर ल्याइदिने, गाईबस्तुलाई घाँस काटेर हालिदिने जस्ता काम छिमेकीले गरिदिने गरेको पोखरेलले बताए । ‘गाई छिमेकीले घँस्याए पनि दुध चै हामीनै दुहेर खाने गरेका छौं,’ पोखरेल ले भने ।

परिवारका सबै संक्रमित हुँदा केही सजिलो भएको महसुस पोखरेल परिवारले गरेको छ । भान्साकोठा, शौचालय, ट्यूबवेल, भाँडा वर्तन लगायतको प्रयोग गर्न सजिलो भएको पोखरेलले बताए ।

मंगलबार शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी जन्य औषधि लिएर संक्रमितका घरैमा पुग्दा उनीहरुको अनुहारमा खुशी देखिन्थ्यो ।

शर्माले नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सञ्जय ठकुरी र कोभीडका फोकल पर्सन रोशन अधिकारीलाई पनि साथै लगेका थिए । नगरप्रमुख स्वास्थ्यकर्मी सहितको टोली लिएर घरमा औषधिसहित आउँदा आफूहरूको मनोबल उच्च भएको सङ्क्रमितले बताए ।

‘अभिभावक आउँदा रोगलाई जितेजस्तो भयो, पोख्रेलले भने, ‘ गाह्रो भएको बेला नगर प्रमुखले ल्याएको औषधिले मनोबल उच्च मात्र होइन कोरोनालाई नै परास्त गरेको अनुभुती भएको छ ।’

स्वास्थ्यकर्मीका अनुसार संक्रमित पोखरेलका सबै परिवारको स्वास्थ्य अवस्था बिल्कुलै सामान्य रहेको छ ।

संक्रमितका घरमा जनप्रतिनिधि पुग्दा उनीहरूको मनोबल उच्च हुने शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतले बताएका छन् । ‘हामी जनप्रतिनिधि उहाँहरुका अभिभावक हौ । यस्तो परिस्थितिमा उहाँहरूका घरमा गएर आवश्यक सल्लाह, सहयोग र रोगप्रतिरोध औषधि दिँदा संक्रमितको मनोवल उच्च हुन्छ,’ वडा अध्यक्ष बस्नेतले भने ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुवास राई, सुकुम्बासी समस्या तथा व्यवस्थापन आयोग झापाका सदस्य राधाकृष्ण खनाल लगायत वडा नम्बर १ का जनप्रतिनिधि पनि संक्रमितका घरमा पुगेका थिए ।

नगरप्रमुख शेर्माले संक्रमितलाई तातो पोषणयुक्त झोलिलो पदार्थ सेवन गर्न सुझाए । आत्मबल दरो बनाएर स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पूरा गर्न पनि उनले संक्रमितलाई अनुरोध गरेका छन् ।

‘यो लरतरो रोग होइन, कोरोनालाई सामान्य ठान्नु बिल्कुलै हुँदैन,’ नगर प्रमुख शेर्माले भने ‘कुनै त्यस्तो जटिल समस्या देखिए नजिकका स्वास्थ्यकर्मी, जनप्रतिनिधि वा ९८५२६२७४४४ मा सिधै मलाई फोन गर्नुहोस् ।’ शिवसताक्षी नगरले अतिविपन्न वर्गका नगरवासीको कोरोना परिक्षण र अस्पतालसम्म जानकालागि एम्वुलेन्स सुविधा निःशुल्क गरेको छ । नगरप्रमुख शेर्माले सरकारी तथा निजी स्वास्थ्य संस्थामा पनि नगरपालिकाले संक्रमितको उपचारकालागि आवश्यक समन्वय गरेको बताएका छन् ।

नगरप्रमुख शर्माले धरमपुरका अर्का संक्रमित गोपाल सापकोटासँग पनि साक्षात्कार गरेका छन् । सापकोटाले आफ्नो स्वास्थ्य समस्या नगरप्रमुख शेर्माले सुनाउँदै भने, केहीबेर अघिसम्म ज्वरो बढिरहेको थियो । अहिले आएर घटेको छ ।’ नगरप्रमुख शेर्माले परेजमा बस्न र पोषिलो खानेकुरा खान उनलाई पनि आग्रह गरेका छन् ।

जीउ दुख्ने, हाडजोर्नी कटकटी खाने, ज्वरो घटबढ हुने, बान्ता आउन लागे जस्तो हुने लगायतका लक्षण उनमा देखा परेको छ । बेलाबेला सास फेर्न गाह्रो हुने लक्षणपनि उनमा छ ।

शिवसताक्षी नगरपालिकाले संक्रमितका घरमा रोग प्रतिरोधात्मक क्षमताका औषधि लिएर जाने अभियाननै सञ्चालन गरेको छ । एक सातामा शिवसताक्षी नगरपालिकामा रहेका कुल संक्रमितमध्ये १० जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

झापामा जंगली हात्तीले फेरि ज्यान लियो

Read Next

श्रीमानले छोडेका कोरोना संक्रमितलाई घरबेटीले समेत कोठाबाट निकाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *