Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

शिवसताक्षी नगरपालिकाले संक्रमित बचाउन गर्यो अक्सिजन सिलिण्डर सहयोगको आह्वान

झिलझिले / कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव भएपछि झापाको शिवसताक्षी नगरपालिकाले सार्वजनिक रुपमा सहयोगको आह्वान गरेको छ ।

नगरका राजनीतिक दल, गैरसरकारी संघसंस्था, समाजसेवी, उद्योगी व्यवसायी, निर्माण व्यवसायी, वित्तीय सङ्घसंस्था, संस्थागत विद्यालय, समाजसेवी लगायतसँग नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिले सहयोगको याचना गरेको हो ।

नगरपालिकासँग भएको १० वटा अक्सिजन सिलिन्डर पर्याप्त नहुने भएपछि विभिन्न सङ्घसंस्थासँग औपचारिकरुपमा सहयोगको आह्वान भएको समितिका सदस्य तथा नेपाली कांग्रेसका सभापति पर्शुराम ढुंगानाले बताए ।

शिवसताक्षी नगरको कोभीड अस्थाई अस्पतालमा संक्रमित आउन थालेपछि उनीहरूको उपचारमा सहजता ल्याउन‌ सिलिन्डर संख्या थप गर्न आवश्यक रहेको माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए । उनले भने,‘देश-विदेशमा रहेका शिवसताक्षी नगरपालिकाका दाजुभाइ तथा दिदिबहिनीहरुसँग पनि आह्वान गरिनेछ ।’

समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख चन्द्रकुमार सेर्मा को अध्यक्षतामा बसेको बैठकले कम्तिमा १०० जना संक्रमितलाई आवश्यक हुने औषधि खरिद गर्ने समेत निर्णय भएको नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए । उनले आयुर्वेदिक र एलो पेथीक औषधि खरिद हुने बताए ।

हाल रहेको संख्या थप गरेर कम्तिमा १० बेड क्षमताको कोभीड अस्पताल सञ्चालन गरिनेपनि निर्णय भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा रहेको झरना प्राथमिक विद्यालयमा २५ बेड क्षमताको अस्थायी अस्पताल सञ्चालन गर्न सकिने छ । एकाघर परिवारका सबै सदस्य कोरोना संक्रमणले होम आइसोलेशनमा भएका कारण खाद्यान्न संकट भए नगरपालिकाले त्यस्ता परिवारलाई राहत सामाग्री वितरण गर्ने भएको छ।

यस्तै संक्रमण कै कारण काम गर्न नपाएका विपन्न परिवारका सदस्यलाई पनि नगरपालिकाले राहात प्रदान गर्ने निर्णय भएको प्रवक्ता नवीन इजमले बताए । राहत लिन योग्य यस्ता परिवारले वडा कार्यपालिकाको सिफारिस अनिवार्य लिनुपर्ने पनि निर्णय भएको छ । नगरपालिकाले सातामा दुई पटक एन्टीजेन किटबाट कोरोना परीक्षण गर्ने पनि बताएको छ ।

नगरवासीले यसको कुनै शुल्क तिर्नु नपर्ने नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । ‘एन्टीजेन किटबाट परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए अतिविपन्न वर्गका नगरवासीको वडा कार्यपालिकाको सिफारिसमा थप पीसीआर पनि नगरपालिकाले निशुल्क गर्नेछ,’ नगरप्रमुख शेर्माले भने । यस्ता संक्रमित नगरपालिकाले संचालन गरेको अस्थायी कोभीड अस्पतालमा उपचारका लागि आए खाना र नास्ता पनि नगरपालिकाले ब्यहोर्ने नगरप्रमुख शेर्माले जानकारी दिएका छन् ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन स्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठको संयोजकत्वमा अस्पताल व्यवस्थापन समिति पनि गठन गरेको छ ।

सो समितिको सदस्यमा स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सञ्जय ठकुरी र नगरपालिकाका कर्मचारी दीपक तामाङ छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता नगरमा १२५२ जनाको पीसीआर गरिएकोमा २०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । परीक्षण गरिएकामध्ये संक्रमित हुनेको संख्या १६.६९ प्रतिशत हो ।

यस्तै यो अवधिमा शिवसताक्षी नम्बरमा ८७ जना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये कोरोना मुक्त हुनेको संख्या ५६.९३ प्रतिशत हो । नगरपालिकाको स्वास्थ्य शाखा, दुधे आयुर्वेद औषधालय र जनप्रतिनिधि सक्रिय भएकै कारण कोरोना संक्रमण मुक्त हुने दर नगरमा दिनहुँ बढ्दै गइरहेको छ।

दुधे आयुर्वेद औषधालयबाट वितरित रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि सेवन गरेकै कारण संक्रमण मुक्त हुने दर उच्च रहेको स्वास्थ्य शाखाको ठम्याइ छ । गतवर्ष यही अवधिमा ३८८ संक्रमण, ७१ संक्रमण मुक्त र ७ जना संक्रमितले ज्यान गुमाएका थिए । यसपटक भने नगरमा भयावह स्थिति नभएको तथ्यांकले देखाएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सञ्जय ठकुरीले बताए ।

नगरमा हाल ११९ जना सक्रिय संक्रमित छन् । ती मध्ये अस्पतालमा ६, नगरको अस्थायी कोभीड अस्पतालमा १ बाँकी होम आइसोलेशनमा छन् । बैठकमा उपप्रमुख भोजकूमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश योङहाङ लगायत शिवसताक्षी नगरका सक्रिय राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

शिवसताक्षी नगरपालिकाले ५७ करोड ९७ लाख बजेट पाउँदा बाँकी तहले कति पाए ?

Read Next

बाँच्छु जस्तो त एक प्रतिशत पनि लागेको थिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *