Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

शिवसताक्षीको कोभीड अस्पताल सोमबारदेखि संचालनमा आउने, लुथरनले दियो स्वास्थ्य सामग्री

दुधे / शिवसताक्षी नगरमा स्थापित अस्थाई कोभीड अस्पताल सोमबार बेलुकादेखि संचालनमा आउने भएको छ । वडा नम्बर ११ काे झरना क्वारेन्टाइनलाई नगरले अस्थाइ काेभीड अस्पताल बनाएकाे हाे ।

नगर प्रमुख चन्द्रकुमार शेर्मा, क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष कुलवहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष नविन ईजम सहितको टोलीले कोभीड अस्पतालको स्थलगत अनुगमन गरेपछि सोमबार साँझदेखि संचालनमा आउने भएको हो । अनुगमन टोलीमा स्वास्थ्यकर्मी र सुकुम्बासी आयोग झापाका बरिष्ठ सदस्य राधाकृष्ण खनाल पनि सहभागी थिए ।

सोमबार दिनभर आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने भएकोले साँझदेखि संचालनमा आउने नगरका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष इजमले बताए । उनले भने, ‘बेड, पंखा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि आवास, भान्सामा आवश्यक सामग्रीको व्यवस्थापन, विद्युत, संचार लगायतका पूर्वाधार सोमबार दिउँसो तयार गर्नुपर्ने भएकाले साझदेखि अस्पताल संचालनमा आउने छ ।’

शिवसताक्षी नगरले संचालनमा ल्याउन लागेको अस्थायी कोभीड अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार हुनेछ । त्यसका लागि १ जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स, १ जना कार्यालय सहयोगी र अर्का एक जना भान्से नगरपालिकाले जनशक्ति उपलब्ध गराएको नगर प्रमुख शेर्माले बताए । उनका अनुसार अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल संचालनमा आउने भएको हो ।

कोरोनाको दोश्रो लहर सुरु हुनु अगावै सो अस्पतालको उद्धघाटन भएको थियो । नगरका अधिकाँस संक्रमित अस्पताल र होम आईसोलेशनमा रहेकाले नगरले स्थापना गरेको कोभीड अस्पताल खाली नै थियो ।अक्सिजन लगायत अन्य औषधी सेवन गर्न संक्रमितलाई चिकित्सकको सल्लाह आवश्यक पर्ने भएकाले जटिल प्रकृतिका संक्रमितलाई नगरको कोभीड अस्पतालमा ल्याएर नगरपालिकाले नै उपचार गर्ने २ नम्बर वडाका अध्यक्ष कुलवहादुर बस्नेतले बताए ।

कोभिड अस्पताललाई लुथरनकाे स्वास्थ्य सामग्री

यता, स्थानीय तहमा स्थापित शिवसताक्षी नगरको अस्थायी कोभिड अस्पताललाई लुथरन विश्व फेडेरेसन नेपालले आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा नगरपालिकाले स्थापना गरेको शिवसताक्षी अस्थायी कोभीड अस्पतालाई फेडेरेसनको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मालाई लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङ्गले स्वास्थ्य सामग्री प्रदान गरेको हो । फेडेरेसनले १० थान पिपिइ सेट, एन्टिजेन किट ३० थान, भिटिएम किट ५० थान, सर्जिकल माक्स ५ सय थान प्रदान गरेको नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले बताए ।

विमलीका अनुसार सेनिटाइजर १० लिटर, ल्गोव्स, २ सय सेट, अक्सिमिटर २ सेट, भेपोराइजर २ सेट र थर्मलगन २ सेट नगरको अस्थायी कोभिड अस्पताललाई प्राप्त भएको छ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

फूलको गमलामा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

Read Next

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रकी कोरोना संक्रमित महिलाको उपचार नपाएरै ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *