झापा / आउँदो ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले अध्यक्ष केपी ओली झापा- ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
ओलीको पुरानो क्षेत्र भएकाले पनि उनको उम्मेदवारी सोही क्षेत्रबाट हुने अनुमान गरिएको छ । यद्यपि, ओली झापाकै अर्को क्षेत्रमा सर्ने चर्चा पनि चलेको छ । झापा ५ मा आफू असुरक्षित हुने अवस्थामा मात्रै ओली अर्को क्षेत्र सर्न सक्ने चर्चा चलेको हो ।
०४८ सालको आमनिर्वाचनदेखि निरन्तर यो क्षेत्रबाट चुनावी मैदानमा रहेका ओलीका लागि आउने चुनाव पनि सकसपूर्ण हुने देखिन्छ । कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धन कायम रहने अवस्थामा भने ओलीका लागि प्रतिष्ठाको चुनाव पनि बन्ने देखिएको छ ।
०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथ लिएर निर्वाचित भएका थिए । अध्यक्ष अोलीको निर्वाचन क्षेत्र एमालेको बलियो संगठन रहेको बताइन्छ । तथापि, एमालेभित्रको आन्तरिक किचलो गत स्थानीय तहको चुनावमा देखिएको थियो । पार्टी विभाजनाको केही असर देखिए पनि अन्तर्घातका कारण एमालेले स्थानीय तहमा केही वडा र मेयर गुमाउनुपरेको थियो ।
त्यसैले, अहिले ओली सतर्कतापूर्वक निर्वाचन क्षेत्रको मुड बुझिरहेका छन् । यो क्षेत्रमा कांग्रेसमा अघिल्लोपटक पराजित खगेन्द्र अधिकारीलाई दोहोर्याउने कि मेदिनीप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भन्ने चर्चा भइरहेको छ । ०७४ को चुनावमा वाम गठबन्धनबाट ओली ५७ हजार १ सय ३९ मतसहित विजयी भएका थिए । ओलीका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।
मुड बुझ्दै ओली, मतमा एमाले बलियो
ओली अहिले झापाको चुनावी माहौलको सुक्ष्म विश्लेषण गरिरहेका छन् । त्यही कारण उनको झापा यात्रा पनि बाक्लिएको छ । गत महिना मतदाताको माहौल र भावना बुझन झापा पुगेका ओलीले आफ्नो निर्वाचन क्षेत्रको अवस्थाका बारेमा कार्यकर्ताबाट जानकारी लिएका थिए । गत महिना दोस्रोपटक झापा पुगेर ओलीले झापाको आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घुलमिल हुने, संवाद गर्ने प्रयास गरेका थिए ।
एमालेको बलियो उपस्थिति भएको क्षेत्र हो झापा– ५ । स्थानीय तहमा एमालेले प्राप्त गरेको मतले पनि त्यसको प्रभाव देखिन्छ । यद्यपि, ओलीको क्षेत्रकै दमक नगरपालिकाको मेयर भने सत्ता गठबन्धनसँग सहकार्यमा राप्रपाले जितेको छ । एमालेका झापा जिल्ला अध्यक्ष दीपक कार्की झापामा एमाले कमजोर नभएको दाबी मात्र गर्दैनन्, अध्यक्ष ओलीलाई पार्टीभन्दा बाहिरबाट पनि प्रशस्त मत आउने भएकोले समस्या नभएको बताउँछन् ।
झापाको निर्वाचन क्षेत्र ५ मा २९ वटा वडा रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ । त्यसले स्वतः एमाले बलियो रहेको संकेत गर्छ । ओलीको निर्वाचन क्षेत्रमा गौरादह नगरपालिकाका वडा नम्बरहरू १, २, ३, ४, ५, ६, ७, ८ गौरीगंज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५ र ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन् ।
त्यसरी हेर्दा, गौरीगंज गाउँपालिकामा अध्यक्षसहित २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित ३ वटा वडामा एमाले र एउटा वटामा माओवादीले जितेको छ भने कमल गाउँपालिका कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित अन्य ५ वटा वडा जितेको छ । यी दुवै गाउँपालिकामा एमालेले धेरै वडा जितेको छ ।
यस्तै, गौरादह नगरपालिकामा एमाले अध्यक्ष–उपध्यक्षसहित निर्वाचन क्षेत्र–५ मा पर्ने ६ वटा वडा जितेका छ भने दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो । यो नगरपालिकामा एमाले ७ वटा वडा, कांग्रेसले २ र एउटा वडा राप्रपाले जितेको छ ।
गत स्थानीय तहको निर्वाचनमा वडागत मतको आधारमा हेर्दा झापा ५ मा एमाले ४१ हजार ६ सय १९, कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७ सय ८८, राप्रपा ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीले १ हजार ९ सय ८८ मत पाएका छन् । ओलीको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा एमाले–राप्रपा गठबन्धन भए ४९ हजार ९ सय ७० मत उनको पक्षमा हुने देखिन्छ भने कांग्रेस, माओवादीसहितको गठबन्धनसँग ३६ हजार मत मात्र रहने पनि देखिन्छ ।
राप्रपाको आश
गत चुनावमा पनि ओलीले झापा ५ मा असुरक्षित महसुस गरेका थिए । माअोवादीसँग गठबन्धन गर्दा पनि असुरक्षित महसुस गरेका ओलीले राप्रपा नेपालसँग सहकार्य गर्न पुगेका थिए । झापा ३ मा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने सहमति गरेर झापा ५ मा राप्रपाको सहयोग लिएका थिए । त्यही सहयोगका साथ त्यतिबेला निर्वाचित ओली अहिले पनि राप्रपाको सहयोगको अपेक्षामा छन् । त्यसको संकेत ओली र राजेन्द्र लिङ्देनको भेटवार्ताले गरिसकेको छ ।
झापा ५ मा ओली र झापा ३ मा राप्रपालाई साथ दिने गरी सहकार्यको मोडालिटीले निरन्तरता पाउने सम्भावना रहेको छ । कतिपय एमालेका जिल्ला नेताहरू पनि यो विषयमा अनौपचारिक सहमति जुटेको बताउन थालेका छन् । यद्यपि, राप्रपाका नेता राम थापाले बाहिर चर्चा भएजस्तो एमालेसँग गठबन्धन गर्ने सहमति भइनसकेको बताउँछन् । थापाले दुई दलबीच अनौपचारिक छलफल भएको र दलभित्र पनि आन्तरिक छलफलहरू भएको तर सहमति नभइसकेको दाबी गरे । (शिलापत्रबाट)