Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

गाउँले होटल सञ्चालकको मृत्यु प्रकरण : आफन्त भन्छन् हत्या, प्रहरी भन्छ आत्महत्या

झापा / झापाका होटल व्यवसायी तिलक निरौलाको हत्यामा संलग्नलाई प्रहरीले एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै मंगलवार बिर्तामोडमा मृतकका परिवार, आफन्त र सर्वसाधारण नागरिकले जुलुस निकालेका छन् ।
मृतकका आफन्तका अनुसार यो जुलुस प्रशासनलाई दबाव दिन निकालिएको हो ।

मृतकका परिवारले हत्यामा संलग्नलाई प्रहरीले संरक्षण दिइरहेको गम्भीर आरोप लगाएका छन् । एक महिना बितिसक्दा पनि घटनाको छानविन नहुनु, शंकास्पद व्यक्ति प्रशासनकै अघिपछि हुनु लगायतका कारणले बिर्तामोडको मुक्ति चोकमा प्रदर्शनमा उत्रिनुको विकल्प नभएको मृतकका आफन्तले बताए । उनीहरुले हत्यामा संलग्नलाई अविलम्ब सार्वजनिक गर्न पनि माग गरेका छन् ।

बिर्तामोडको गाउँले होटलका सञ्चालक निरौलाको मारेर फालिएको अवस्थामा चारआली जंगलमा शव फेला परेको थियो । घटनाको अनुसन्धान भइरहेको जनाउँदै आएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले अहिलेसम्म दोषी सार्वजनिक गर्न सकेको छैन । यद्यपि दुई जनाभने प्रहरीको निगरानीमा छन् । उनीहरुलाई कल डिटेल्सको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

निरौला हत्याको घटनामा प्रहरीको अनुसन्धान शैली र भूमिकाप्रति प्रश्न उठाउँदै पीडित परिवार र आफन्तजनले न्यायका लागि चरणबद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।


गएको चैत्र २० गते शुक्रवार घरबाट रोयल पाटी प्यालेस जान्छु भन्दै हिँडेका निरौला त्यसै दिनदेखि बेखबर भएको आफन्त झमक गौतमले बताए । ‘शुक्रबार दिउँसो २ बजे घरबाट हिँड्नुभएको भिनाजु सवार मोटरसाइकल प्रहरीले त्यसै दिन पूर्वपश्चिम राजमार्गको बुट्टाबारी चारआली सडक खण्डबाट नियन्त्रणमा लिएको थियो ।’


गौतमका अनुसार निरौलाको शव भेटिएको ठाउँबाट करिब १०० मिटर नजिकबाट प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको सिसि क्यामेराको फुटेजबाट प्रष्ट देखिन्छ । तर उनको शव भने प्रहरीले आइतबार विहान ७ वजे मात्र फेला पारेको थियो ।

मृतकको अण्डकोष पिल्सिएको जस्तो देखिनु, पेन्टी नभेटिनु, छातीमा निलो दाग देखिनु, कन्चटमा रगत जम्नु, चस्मा लगाएकै अवस्थामा शव भेटिनु, मोबायल फोन गोजीमा भेटिनु लगायतका कारणले निरौलाको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । गौतमका अनुसार शरीरमा गहिरो र गम्भीर प्रकृतिको चोट नभएपनि आत्महत्या हुनै सक्दैन । ‘प्रहरीले अनुसन्धानलाई ढिसमिस पार्नका लागि आत्महत्या भएको हुन सक्ने जानकारी दिएको छ । हामी कुनै हालतमा पत्याउन सक्दैनौं,’ उनले भने ।


‘घटनाको स्वच्छ छानबिन र अनुसन्धान  गरेर पीडित परिवारलाई न्याय दिलाईहोस्,’ मृतकका आफन्तले यसै भनेका छन् ।


यता, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले गाउँले होटल सञ्चालक तिलक निरौलाले सेल्फोस् नामक विषादीको बट्टा फेला परेकोले त्यै सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् । ‘बिज्ञान प्रयोगशालाको रिपोर्टले पनि मृतकको शरीरमा सेल्फोस नामक विषादीको मात्रा रहेको देखाएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने । मृतक ले लगाएको लुगामा २ पानाको सुसाइट नोट पनि फेलापरेको उनले बताएका छन् ।


स्थानीय नारायण खड्का र भरत दंगाल का कारण घरव्यवहार बिग्रिएकोले उनीहरूकै कारण आफूले आत्महत्या गरेको पत्र पनि प्रहरीले बरामद गरेको थियो । अहिले पनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी मार्फत आत्महत्या दुरुत्साहन शीर्षकमा मुद्दा दर्ता भएको प्रहरी नायब परीक्षक थापाले बताए ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

झापा आन्दोलनका बेला केपी ओलीका अङ्ग रक्षक तामाङको यो हालत, ओलीलाई भेटेरै मर्ने उनको इच्छा

Read Next

उपत्यकाबाट दुई दिनमा बाहिरिए एक लाख मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *