विराटनगर / गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्।
ओली समूहको विराटनगर सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई हिटलरजस्तै बन्न रुचाउनेहरूले प्रतिगमन भनेर दुष्प्रचार गरेको बताए।
‘हामी चुनावमा जाने भनेर लागेका छौं,’ उनले भने, ‘चुनावमा जानु, ताजा जनादेशमा जानु अग्रगमन हो।’
थापाले प्रचण्ड-नेपाल समूह अवसरवादी भएको आरोप लगाए। उनले सदन भंग गर्ने प्रधानमन्त्रीको कदम लोकतन्त्रको पक्षमा भएको ऐतिहासिक कदम भएको पनि दाबी गरे।
सरकारले अपराध घटाएको दाबी गर्दै उनले निर्मला पन्त हत्याका अभियुक्तको नजिक पुगिएको पनि जिकिर गरे।
‘निर्मला हत्याराको नजिक सरकार पुगिसकेको छ,’ उनले भने, ‘अब छिट्टै सफलता हात लाग्नेछ।’