झिलझिले / झापाको शिवसताक्षीमा एक पुरुषले धारिलो हतियार प्रहार गरेर छिमेकी महिलाको हत्या गरेका छन् ।
शिवसताक्षी नगरपालिका ३ माने चोक की ३७ वर्षीय सुष्मा लिम्बुको छिमेकी ३४ वर्षीय देवबहादुर मिस्त्रीले धारिलो हतियार (खुकुरी) र त्यसको बिंड प्रहार गरेर हत्या गरेका हुन् । यो घटना भदौ २८ गते बिहान ११ बजेको हो । छिमेकीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी लिम्बुको बिर्तामोडको बिएंडसी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरको नोबेल मेडिकल कलेज लगिएको थियो । चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधार हुन नसक्ने भन्दै अचेत अवस्थामै घर पठाएका पारिवारिक स्राेतले बताएकाे छ ।
आफन्तले गम्भीर घाइते भएकी सुष्मालाई घर आउने क्रममा मोरङको कानेपोखरी क्षेत्रमा होस खुलेपछि सोही दिन नोबेल अस्पताल लगेका थिए । उनको शुक्रबार साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना भएकै दिन इलाका प्रहरी कार्यालय झिलझिलेले आक्रमणकारी मिस्त्रीलाई पक्राउ गरेको थियो ।
घटनालगत्तै उनी फरार भएका थिए , ‘लगत्तै घटनास्थल पुगेको प्रहरीको टोलीले उनलाई भाग्दै गर्दा पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार ज्यान मार्ने उद्योगमा सात दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको छ । मृतक लिम्बू र मिस्त्री छिमेकी हुन् ।
उनीहरु दुवैजनाको परिवार अधिया जग्गा कमाउँदै परिवारको गुजारा चलाउँदै आएका थिए । घटनाअघि उनीहरू बीचको पारिवारिक दुश्मनी पनि केही नभएको छिमेकीहरुले बताएका छन् । ऐचो पैँचो र मेला पर्ममा उनीहरु दुबैका परिवार सामुहिक रुपमा खेती पातीमा काम गर्दै आएका थिए । मृतक लिम्बूका श्रीमान वैदेशिक रोजगारमा छन् भने हत्या घटनामा संलग्न मिस्त्री विवाहित पुरुष हुन् । उनीहरु दुई परिवार बिचको बेमेल र विवाद आफूहरुलाई थाहा नभएको स्थानीयवासीले बताएका छन् ।
