Girl in a jacket

झिलझिलेको आकाश माथि साइकल सरर


झिलझिले / नेपालमा पहिलो पटक व्यवसायिक रुपमा स्थापना गरिएको पार्कमा आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइकिलिङ भित्रिएको छ ।

झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइकिलिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन् । ३५ करोडको लागतमा निर्मित उक्त पार्कमा जिप लाइन, सुपरम्यान जिपलाइन र पछिल्लोपटक जिप साइकिलिङ पनि भित्र्याएर पर्यटकको मन लोभ्याउन यसका उध्यमी राजकुमार संग्रौलाले थालेका छन् ।

दुई सय मिटर दूरीका दुईवटा बिल्डिङमा झुन्ड्याइएको तारमा सर्वसाधारणले साइकल कुदाएर मज्जा लिन सक्नेछन् । एउटा साइकलमा दुईजनाले सयर गर्न सकिनेछ । दुईवटा तार मध्ये माथिल्लो तारमा साइकललाई झुन्ड्याइएको हुन्छ । तल्लो तारमा साइकलको चक्का अडिएको हुन्छ । जिप साइकिलिङ गर्नेले पाइडल मारेपछि तल्लो तारमा अड्याइएको चक्का कुद्छ ।

सुरक्षाका लागि जिप साइकिलिङ प्राविधिकले साइकल कुदाउनेको खुट्टाको दुवै भाग र कम्मरमा हार्नेसले बाँधिदिएका हुन्छन् । त्यो हार्नेसको हुक साइकल अड्याएको क्लिपमा लगेर जोडिएको हुन्छ । जसका कारण साइकल सयर गर्नेको सुरक्षा हदसम्मको मजबुत हुन्छ ।

जमिन देखि ५८ फिटमाथि खुल्ला आकाशमा बढीमा दुई जनाले एकैपटक सहजै साइकल चलाउन सकिन्छ । साइकलमा पनि दुवै जनाका लागि पाइडल हुन्छ । जिप साइकिलिङका प्राविधिक सौजन संग्रौलाका अनुसार एकजनालाई बढीमा १ मिनेट र दुइजलाई बढीमा ४० सेकेन्डमा एउटा बिल्डिङ बाट अर्को बिल्डिङमा साइकल कुदाएर जान सकिन्छ । ‘जमिनमा साइकल चलाएजस्तै आकाशमा पनि पाइडल चलाउनु पर्छ,’ उनले भने ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने संकेत दिएपछि उनले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण सुरु गरेका थिए । कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए । सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण सुरु भएका छन् ।

पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभएपनी यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । बिबाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाँउ वाटर किङडम पार्क रहेको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले बताएका छन् ।

पार्कमा आएर फोटो खिचेर सामाजिक संजालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरु आउनेको संख्या यतिबेला बढेको छ ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका आइटम पनि छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टीलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् ।

बच्चाहरुका लागि किट्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षण हुन् । बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्क भित्र खान बस्न र पार्क भित्रका दृश्यहरु अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि संचालनमा छ । यसले सबैको मन जितेकोे छ ।

सञ्चालक संग्रौलाले पार्कभित्र भेज र नन भेजका फरक—फरक होटल सञ्चालन गरेका छन् । यस्तै आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न ३० वटा कोठाको दुईवटा भवन निर्माण गरेका छन् । ‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुन्छ भने अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ,’ संचालक संग्रौलाले भने ।

पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइ बन्नेमा संग्रौला आशावादी छन् ।
शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीय स्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्क भित्रका वालहरुमा देख्न पाइन्छ । विभिन्न जातजातिका झाँकीहरु पनि पार्क भित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन् । ती झाँकीहरु हस्तकला द्वारा निर्मित हुन् ।

३५ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको पार्कबाट ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाहिय पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरुमा प्याकेजमा भ्रमण गराउने बताए । उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाहिय पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरुमा पुर्याएर मनोरञ्जन दिलाइने छ ।’ यसका अलवा भारतका कालिपोङ, दार्जेलिङ, खर्साङ, मिरिक जस्ता ठाँउपनि प्याकेजमा घुमाउने योजना संग्रौलाले ल्याएका छन् ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

चौतर्फी दबाबपछि रिहा भइन् रामकुमारी झाँक्री

Read Next

ज्वाइँद्वारा सासूको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box