झापा / आउँदो फागुन ११ गतेदेखि झापा गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो।
दीपज्योती युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा जनकल्याण माविको खेल मैदानमा फागुन ११ देखि १८ गतेसम्म उक्त प्रतियोगिता हुने क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताए । उहाँका अनुसार झापा गाउँपालिकाको समेत ३ लाख ५० हजार आर्थिक सहयोगसहित सन्चालन हुने खेलमा आयोजकसहित १ नं प्रदेशका ८ टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख १ हजार १ सय ११ र उपविजेता हुने टिमलाई ५१ हजार १सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए । प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट किपर, बेस्ट प्लेयर, उदयीमान खेलाडी र हाई स्कोररले समेत नगदसहित मेडल पाउने छन् ।
प्रतियोगितामा आयोजक टिम, श्रीनाथ गण चारआली, जलथल एफसी, दमक एकाडेमी, रेड स्टार बिर्तामोड, सशस्त्र प्रहरी बल सुनसरी, झापा एफसी राजगढ र ब्रदर्स युनाइटेड चन्द्रगढीको सहभागिता रहने क्लबका सचिव वासुदेब दाहालले जानकारी दिएका छन्।
यसैबीच, झापा गाउँपालिका ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले आयोजना सम्पन्न गर्न आफू हरदम तयार रहने प्रतिबद्धता जनाएका छन् ।