बिर्तामोड / सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२ औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५ औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।
तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।
खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । जीतसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको अन्तिम चारमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।