Girl in a jacket

पछिल्लो अपडेट :

  • July 31, 2021

मलाई अमेरिका यही, जापान पनि यही… !

झापा । मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् ।

झापाका पन्ध्र वटै स्थानीय तहमा युवाले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै करोड आर्जन गरेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेका गंगा पौडेलले गरेको कुखुरा पालन व्यवसाय विदेशी शैलीको छ। लेयर जातका अण्डा पार्ने १० हजार कुखुरा उनको खोरमा छन् ।

चार लाख रुपैयाँको लागतबाट सुरू गरेको यो व्यवसायले उनलाई अहिले डेढ करोडको मालिक बनाएको छ। कुखुरा पालन व्यवसायबाट उनले तीन तले घर बनाए। अण्डाको बजार खोज्न जानका लागि कार पनि खरिद गरे।

विदेश जानका लागि पासपोर्र्ट बनाएर ठिक्क परेका गंगालाई उनका बुवाले खानलाउन दुःख छैन किन जानु विदेशरु भनी हपारेका थिए। ‘बुवाको आज्ञा नमानेको भए आज पनि म ४५ डिग्रीको तातोमा अर्काको देशमा कामदारको रुपमा हुन्थेँ होला,’ उनले भने, ‘यो बेला ६ जना युवालाई काम दिन सक्ने भएको छु।’

पन्ध्र वर्षअघि आफ्नो चार बिगाह जग्गा जोत्न गंगालाई साथी चाहिन्न थियो। राँगा लिएर बिहान ३ बजे नै खेतमा जाँदा उनले १० कठ्ठा जग्गा मध्यान्ह १२ बजेसम्म जोतिसकेका हुन्थे। उनकी ८६ वर्षीय हजुरआमा चन्द्र कलाले भनिन्, ‘गंङ्गेको काम देख्दा अचम्म लाग्थ्यो, खेतीको काम गर्न ज्यामराज थियो।’

गंगाको अहिले पनि चार बिगाहा जग्गा छ। खेतीमा काम गर्न उनलाई फुर्सद छैन। बिहान सवेरैदेखि बजार निस्कन्छन् कुखुराको व्यापारका लागि। सुरुङ्गा, दुधे, झिलझिले, केर्खा दमक उनको मुख्य बजार हो ।

उनले भने, ‘मैले बजारसम्म पुर्याउन पर्दैन, फार्ममै आएर लैजान्छन्।’ उनका बाबु तारानिधि किसान हुन्। परम्परागत खेतीमा उब्जनी वर्षेनी घट्न थालेपछि गंगाले २०६१ सालमा कुखुरा पालन व्यवसाय सुरू गरेका थिए।

धान रोप्यो मलको अभाव, मकै रोप्यो खडेरीले बर्बाद। गंगाले भने, ‘अन्नको खेतीबाट दिक्क भएर कुखुरापालनमा आकर्षण बढेको हो।’ गंगाका परिवारै कुखुरा व्यवसाय गर्ने किसान भएका छन्। दाइ अग्निको छुट्टै कुखुरा फार्म छ। बडाबा चन्द्रप्रसादको छोरा सन्तोष र उमेशको पनि कुखुरा फार्म छ।

बिहानदेखि बेलुका अबेरसम्म उनीहरू आफ्नै कुखुरा फार्ममा रमाउँछन्। पाथिभरा पोल्ट्री फार्म नामको गंगाको कुखुरा पालन व्यवसाय सरकारले तोकेको मापदण्डअनुसार नै छ। आफ्नै जग्गामा अत्याधुनिक खोर बनाएर उनले यो व्यवसाय गरिरहेका छन्।

‘कुखुराको दानाको मूल्यमा उचारचढाब हुँदा आम्दानी घट्ने–बढ्ने हुन्छ,’ उनले भने, ‘बिचौलियाले बजार कब्जा गरेकै कारण सयौं व्यवसायी मारमा छन्।’ जिल्लामा उनी व्यावसायिक रुपमा आधुनिक खोर बनाएर कुखुरा पालन व्यवसाय गर्ने तेस्रो व्यक्ति हुन्।

उनका खोरबाट दैनिक ४५ सय अण्डा उत्पादन हुने गरेको छ। अस्वस्थ बजारका कारण व्यवसाय चौपट्ट हुन लागेको कुखुरापालन गर्ने किसानले बताए पनि तथ्याङ्कले भने वर्षेनी किसानको संख्या बढेको देखाउँछ। झापामा लेयर जातका तीन लाख कुखुरा छन्।

ती कुखुराबाट दैनिक ९ सय कार्टुन अण्डा उत्पादन हुने गरेको छ। सन्तोष गोल्डेन पोल्ट्री फार्मका सञ्चालक सन्तोष पौडेलका अनुसार एक कार्टुनमा २१० वटा अन्डा हुन्छ। उनको फार्म हेर्न हिजोआज ठाउँ–ठाउँका मानिस आउने गरेका छन्।

विर्तामोडको कन्चनजंघा एफएमका प्रवन्धक निर्देशक चन्द्र भण्डारी पौडेलको व्यवसायिक कुखुरा फार्म देखेर दंग भए। उनले भने, ‘युवाको जाँगर देखेर म छक्क परेको छु।’ यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने उनले बताए।

भण्डारीले भने, ‘हजारौं गंगाले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै नेपाली विदेश जानु पर्दैन।’ भण्डारी आफैं पनि बाख्रापालन गर्छन्। जिल्लामा व्यावसायिक रुपमा लेयर जातका कुखुरा पालन व्यवसाय गर्ने किसानको संख्या १६० पुगेको छ।

किसानका अनुसार कतिपय खोरमा अण्डा उत्पादन गर्ने ९४ हजार दुई सय लेयर जातका कुखुरा हुर्कंदै छन्। कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाका अनुसार जिल्लामा लेयर र ब्रोइलर कुखुरापालन गर्ने किसानको संख्या २५ सय पुगेको छ।

उनले भने, ‘यो संख्या पाँच वर्ष अघिमात्र ८ सयमा थियो।’ निरौलाका अनुसार झापा कुखुराको मासु र अण्डामा आत्मनिर्भर छ। झापामा उत्पादन भएका कुुखुरा र अण्डा मेचीका चार वटै जिल्लामा खपत हुने गरेको छ। कुखुरा पालन व्यवसाय थोरै लगानीमा धेरै प्रतिफल लिन सकिने व्यवसाय हो।

निरौलाले भने, ‘यो व्यवसायमा बिचौलिया हावी छन्, भारतबाट कुखुरा र कुखुराजन्य वस्तुको अवैध आयात सरकारले रोक्ने हो भने झापामा हामी पाँच हजार परिवारलाई रोजगारी दिन सक्छौं।’ झापामा कुखुरापालन व्यवसायमा ३० देखि ४० वर्ष उमेर समूहका युवा ७५ प्रतिशत छन्।

यस्तै, ४१ वर्षदेखि ५० वर्ष उमेर समूहका २० प्रतिशत छन भने सोभन्दा माथि पाँच प्रतिशत छन्। कुल किसानको तुलनामा महिला किसान १३ प्रतिशत रहेको व्यवसायी संघले जनाएको छ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

जिल्ला स्तरीय व्याडमिन्टनको छिनाफानो

Read Next

मावाखोलामा पेस्तोलसहित एक जना पक्राउ

One Comment

  • उहाँको फोन नम्बर पाए आभारी हुने थिए धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *