आज सबै मानिसले गम्भीर भएर सोच्ने बेला आएको छ । अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा पृथ्वी रुपी बगैंचाका लागि एक फरक प्रकृतिको उपहारको रुपमा मानिसको भौतिक संरचनालाई सृष्टिको सुरुवाती मै दुई भाग गरी स्वरुप प्रदान गरेको यथार्थ सत्य व्यवहारिक रूपमै छर्लङ्ग छ।
हाम्रो वैदिक दर्शनले यस खाकालाई विभिन्न पक्षबाट गहिरो परीक्षण गरी यथार्थलाइ भिन्नभिन्न ग्रन्थहरूको माध्यममा स्फटिक बनाएको छ। मातृशक्तिलाई सशक्त शक्तिको बिभिन्न स्रोतको रूपमा हाम्रो वैदिक इतिहासले प्रमाणित गरिसकेको छ। शक्तिको ,ज्ञानको र समृद्धिको आधारस्तम्भको रुपमा मातृशक्तिलाई यो चराचर जगत परिचालनको अद्वितीय पक्षको रुपमा स्थापित गरेको छ ।
साथसाथै यस पृथ्वीलाई निरन्तरता दिन एउटा सशक्त स्वरूप समेत प्रदान गरेको छ। पुरुष र महिला भौतिक सरुप सञ्चालनको एउटा ढाँचा मात्र हो र एकको अनुपस्थितिमा अर्काको अस्तित्व र निरन्तरता पटक्कै सम्भव छैन । आज विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदाकति प्रतिशत महिलाले आराम गर्दैछन्। महिलाहरु अगाडि बढ्न नसक्नुमा कारण के के हुन् ? यो गहिरो मननीय पक्ष हो । महिलालाई सशक्त बनाउन उनीहरूलाई चाहिने शिक्षा कति दरिलो बनाउने प्रयास गरिएको छ ? बालकलाई चकलेट र महिलालाई दिवस फकाउने आधार मात्र जस्तो देखिन्छ।
सबैले सम्झन जरुरी छ कि शिक्षाको माध्यमबाट मात्र मानिस सबल र निडर अनि खुशी बन्न सक्छ। आफ्नो स्वतन्त्रतालाई प्रयोग गर्न सक्छ। एकैचोटी स्वतन्त्रताको मात्र वकालत गरियो भने स्वतन्त्रताको दूरूपयोग हुँदा स्वच्छन्दता बढ्नसक्छ र सहि तरिकाले तैरिन सकिँदैन। समग्र समुद्रमा पौडिन सकिँदैन। समुद्रमा पौडिनका लागि तलाउमा पौडिने बानी बसाल्नुपर्छ। भौतिक सिकाइ प्राकृतिक झैं आफै जानिदैन। तसर्थ, शिक्षाको माध्यमबाट चेतना वृद्धि गरी महिलालाई स्वतंत्रताको व्यवहारिक र नियमित उन्नतितर्फ लानसक्नुले मात्र वास्तविक पक्ष सबल हुनसक्छ ।
महिलाहरूकै बीचमा दुरी बनाउने खाले दिवसहरुले वास्तविक हाम्रो समाजको प्रेमलाई संगठित गर्न पनि सक्दैन। आज हाम्रो देशमा बिदा भइरहँदा विश्वका कति देशमा यसप्रति जिम्मेवारीबोध गरिएको छ। महिलाको मात्र विकासले र महिला र पुरुषबीचको अदृश्य हिंसाले दिवसको मर्मलाई मलम लगाउँदैन । प्रगतिका लागि हरेक महिला विचारबाट दरिलो बन्नु जरुरी हुन्छ। विचार दरिलो त्यतिबेला मात्र हुन्छ जतिबेला शिक्षाले विचारलाई निष्पक्ष रुपले सुसज्जित गर्दछ। स्त्री आत्मा र पुरुष आत्मा हुँदैन आफूलाई अग्रसर गराउन र सन्तुलित रुपले वढाउन आफूलाई भगवानको एउटा सशक्त स्वरूपको रूपमा बुझ्नु जरुरी हुन्छ साथैआफूलाई कर्मशील र सशक्त बनाउन सक्नु पर्छ। यी सबै कुरा त्यतिबेला सम्भव हुन्छन जतिबेला शिक्षाले र संगतले तँपाईको मार्ग प्रसस्त गर्दछ। पछिल्लो समयमा सुनिने गरेका महिला हिंसा वा पुरुष सँग सम्बन्धित हिंसा गलत महत्वकांक्षा र स्वार्थ प्राप्तिका उपज हुन् भन्ने कुरा अब बुझ्न त्यति गाह्रो छैन।
अतः आफूलाई उच्च प्रमाणित गर्दै यस संसारलाई पुरुष महिलाबीचको फुलबारी बनाएर कर्मशील जीवन जीउन आमा दिदीबहिनीहरु सफल हुन् । पृथ्वी सबैको समान हो भन्ने भावना सबैमा हुनुपर्छ। अबको विश्वमा पुरुष महिलाका अलगअलग दिवश होइन ,समग्र विकास र सम्पूर्णतामा शिक्षा यो कामना हुनु जरुरी छ ,अन्तर्राष्ट्रिय महिला दिवसको यही शुभकामना ।