Girl in a jacket

मान सराेबर कृषि सहकारीले उत्पादन गरेकाे तरकारीकाे स्वाद अरू भन्दा बेग्लै

दमक / ‘गरे के हुँदैन’ भन्ने भनाइ झापा जिल्लाको दमक नगरपालिका-३ का किसानले सहकारीको माध्यमबाट खेतिपाती गरेरै उजागर गरेका छन्। उनीहरूको परिश्रम देखेर गाउँले यतिबेला दंग छन्।

सुरूमा गाँउले र आफन्तले ‘नहुने काम’ भन्दै नकारात्मक टिप्पणी गर्थे। यतिबेला तिनै मानिसहरू मान सरोबर कृषि सहकारी संस्थाको सदस्य बन्न थालेका छन्।

‘गाँउका दुई चार लाठे मिलेर २०६८ सालमा कृषि सहकारी संस्था दर्ता गर्‍यौं, नाम मैले नै जुराएको हुँ,’ संस्थाका संस्धापक अध्यक्ष इन्द्र गुरागाईंले भने, ‘उतिबेला ११ जना सदस्य पुर्‍याउन हम्मेहम्मे थियो, अहिले ४ सय ८० पुगेको रहेछ।’

संस्थाको उद्देश्यलाई मूर्तरुप दिन दुई वर्षअघि मात्र अध्यक्ष बराललगायत उपाध्यक्ष वीरेन्द्र पोखरेल, सचिव ठाकुरप्रसाद लुइँटेल, सहसचिव विमला भट्टराई, कोषाध्यक्ष वेदप्रसाद न्यौपाने, व्यवस्थापक महेन्द्र अधिकारी लगायतको समूहले तरकारी खेतीको परिकल्पना गर्‍यो। उनीहरूले गरेको परिकल्पनाले अहिले सकार रुप लिएको छ। सहकारीले उत्पादन गरेकाे तरकारीकाे अरू भन्दा बैग्लै स्वादकाे हुने स्थानियले बताए ।

उनीहरूको कृषिजन्य उत्पादनले झापासहित मोरङका ठूला बजारमा उपभोक्ता पाएको छ।

सोह्र बिगाहा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती सुरू गरेको सहकारीले यतिबेला कृषि पाठशाला मात्र होइन, सो फारम आन्तरिक पर्यटकका लागि पनि उतिकै महत्वपूर्ण गन्तव्य बनाउन थालेको छ।

उपाध्यक्ष वीरेन्द्र भन्छन्, ‘अर्ग्यानिक तरकारी खेती हेर्न दिनहुँ समूह-समूहमा बाँधिएर फार्ममा सर्वसाधरण आउनुहुन्छ।’

सो कृषि सहकारीले तीन वटा कार्यक्रम सरकारको ५० प्रतिशत अनुदानमा पनि गरिरहेको छ।

नमूना, खुल्ला र टनेल खेती कार्यक्रम सहकारीका लोकप्रिय कार्यक्रम हुन्। नगरका किसानलाई अर्ग्यानिक तरकारी खेती गराउन सहकारीले नि:शुल्क सिकाइरहेको छ।

सहकारी संस्थाको सबैभन्दा आकर्षणको खेती भनेको टनेलभित्रको खेती हो। पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउँदै गरेको सहकारीले तरकारी फल्ने समयमा भाउ नपाउने, रोगकिराको डर हुने समस्याले हैरान हुन थालेपछि टनेलमा तरकारी खेती सुरू गरेको हो।

अब सबै जातका तरकारीहरू पनि टनेलभित्र नै गर्ने सोचमा सहकारी छ। बीऊ उमार्नेदेखि टनेल बनाउने, ड्याङ बनाउने, बीऊ लगाउने, त्यसको हेरचाह गर्ने, मलपानी हाल्ने, फलाउने र बजारसम्म पुर्‍याएर बेच्ने सहकारी आफैंले गरेको छ। 

टनेलको एक छेऊमा थोपा सिँचाइका लागि ड्रम राखिएको छ। ड्रममा जम्मा भएको पानी आवश्यक मात्रामा पाइपमार्फत् बिरुवामा हाल्ने गरेको सहकारीले बताएको छ। ‘टनेलमा लगाएको तरकारी राम्रो पनि हुन्छ,’ कृषि प्राविधिक दधिवल चापागाईंले भने, ‘मानसरोबर कृषि सहकारी संस्थाको खे-ती गर्ने शैलीको सिको गर्दै यस भेगका अन्य किसानहरूले पनि टनेल बनाएर खेती गर्न सुरू गरेका छन्।’

उनका अनुसार बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउन आवश्यक छ। यसका लागि प्लाष्टिक घर (टनेल) एक मुख्य प्रविधिको रूपमा रहेको छ। टनेलभित्र किरा-फट्याङग्रा, वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिने चापागाईंले बताए।

सहकारीले हाल ११ वटा टनेल बनाएर व्यावसायिक तरकारी खेती गरिरहेको छ। अन्य तीन वटा निर्माणाधीन छन्। माघको दोस्रो सातादेखि निर्माणाधीन टनेलमा पनि खेती सुरू हुने सहकारीका कोषाध्यक्ष वेदप्रसाद न्यौपानेले बताए।

सो सहकारीले तरकारी उत्पादन र बिक्री वितरणबाट वार्षिक १ करोड ५० लाख मुनाफा आर्जन गरिरहेको छ। ३५ जनाले सहकारीबाट रोजगारीसमेत पाएका छन्।

वैदेशिक रोजगारका लागि विदेश गएर फर्किएका र विदेश जान साहूको ऋण नपाएका सो बस्तीका युवाले कृषि सहकारीबाटै खेतीपाती गरेर राम्रो आम्दानी गरिरहेका छन्। ‘पासपोर्ट बनाएर विदेश जान साहूका घरमा धाइयो,’ सो बस्तीका ४६ वर्षीय किसान चन्द्रबहादुर दर्जीले पाँच वर्ष पहिलेको कुरा सम्झँदै भने, ‘विदेश नगएर यतै कृषि फार्ममा काम गरेको भए यतिबेला घडेरी र घर बनाइसक्ने रहेंछु।’

कृषि फार्ममा बाख्रापालन पनि फस्टाएको छ। स्थानीय र बोयर जातका बाख्राको हेरचाहको जिम्मेवारीमा रहेका दर्जीले भने, ‘विदेशको पसिनाले केही जोड्न सकिएन। अब यहीँको फारमको कमाइले आउने सालमा घडेरी किनेर घर बनाउँछु।’

पछिल्ला दुई वर्षयता तरकारी बालीमा आलु, कोबी, भाण्टा, टमाटर, काउली, करेला, फर्सी मात्र नभएर आधुनिक खेती प्रणाली अन्तर्गत अन्नबालीको पनि खेती भइरहेको अध्यक्ष बरालले बताए।

कृषि सहकारी संस्थाको फारममा उत्पादित तरकारी र अन्नबालीमा चैते धान तथा मकै उन्नत बीऊ पनि मुलुकका विभिन्न भागमा संस्थाले बिक्रीका लागि पठाउन थालेको उनले जानकारी दिए।

‘हामीले कृषि विज्ञकै रेखदेखमा तरकारी तथा अन्य नगदेबालीको उत्पादन  गर्ने गरेका छौं। दमक नगरपालिकाको व्ययभारमा कृषि प्राविधिक उक्त सहकारीले पाएको छ। सो फार्ममा कृषि विधाका विद्यार्थी पनि प्रयोगात्मक कक्षाका लागि आउने गरेको संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताए।

संस्थाले गाँउमै अर्ग्यानिक तरकारी उत्पादन गर्न थालेपछि हारालुछ गर्दै स्थानीय उपभोक्ताले पनि खरिद गरिरहेका छन्। बेसार, मेवा, केरा, कुरिलो लगायतको पनि सो फर्ममा खेती हुने गरेको छ। विज्ञको रेखदेखमा बीऊ उत्पादन गरेका कारण हरेक फसल निकै राम्रो हुने सहकारी संस्थाका सचिव ठाकुरप्रसाद लुइँटेल बताउँछन्। ‘खेतीका बेला हामीले उत्पादन गरेको बीऊको हाहाकार हुन्छ,’ उनले भने, ‘बीऊ विजन सुफत मूल्यमा पाएपछि बस्तीका किसान पनि दङ्ग परेका छन्।’

सहकारीले आधुनिक तरिकाबाट खेती गरिरहेको छ। त्यसका लागि आवश्यक उपकरण र औजार संस्थासँगै छ। सिँचाइका लागि बोरिङ जडान भएपछि सबै खेती गर्न सघाउ पुगेको सो सहकारी संस्थाले जनाएको छ।

फार्ममा उत्पादन हुने तरकारी तथा नगदे बालीका लागि जैविक मल पनि सहकारी आफैंले उत्पादन गर्ने गरेको छ। उत्पादित जैविक मल गाँउका किसानले पनि खरिद गरेर लैजाने गरेको स्थानीले बताएका छन्।

जग्गा लिज (ठेक्का) मा लिएर तरकारी खेती सुरू गरेका सो संस्थामा आवद्ध युवाले आफ्नै आर्जनले जग्गासमेत जोडेको सो बस्तीका रामचन्द्र अधिकारीले बताए। ‘युवाको पौरख देखेपछि कामकै लागि विदेश जान राहदानी बनाएका युवा पनि खेती गर्नतिर लागेका छन्,’ उनले भने।

सो कृषि सहकारी संस्थामा २० देखि ५५ वर्ष उमेर समूहका युवायुवती आवद्ध छन्। सहकारीले आफ्नो कार्य विस्तार गर्दै कृषिमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कृषि म्युजियम, होमस्टे, पिकनिक स्पट, मिनी टावर, व्यापारी स्टल निर्माण गर्ने तयारी गरेको छ। यी कार्यक्रम २०७७/७८ का लागि दसौं वार्षिक साधरणसभाले स्वीकृत गरेको बजार व्यवस्थापन उपसमितिका संयोजक विश्वनाथ बरालले बताए।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

कानुन विपरीत काम गर्ने प्रहरीलाई कारबाही गर्ने झापा प्रहरी प्रमुखको चेतावनी

Read Next

दमकमा एम्बुलेन्स, अटो, मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box