झिलझिले / जिल्लाको शिवसताक्षी नगरपालिकामा २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु छन् । उनकाे घर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ हाे । मृतकका आफन्तका अनुसार लिम्बु मगरको घरमा पटक पटक जाने आउने गर्थे ।
मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतले बताए अनुसार लिम्बुले नयाँ नम्बरबाट फोन गरेर मगरलाई भेट्न बोलाएका थिए ।
साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा घरबाट निस्किएका मगरलाई आरोपी लिम्बुले झिलझिले बजारमा भेटेको पाइएको छ । त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।

‘त्यही क्रममा छुराले घाँटी रेटेर हत्या गरेको लिम्बुले स्वीकारेका छन्’, जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले भने, ‘बयानका आधारमा गरिएको अनुसन्धानका क्रममा मृतक र लिम्बुले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ ।’
लिम्बुले अघिल्लो दिन राती आफ्नै साथीको हत्या गरेर बुधबार विहान मगरको घरमा पुगेका थिए । उनले गोमानसिंङको खोजि गरेका थिए । मृतकका आफन्तले गोमानसिंङ हिजो साँझ तपाईले नै बोलाएर गएपछि घर नआएको बताएपछि उनले म संग नगएको बताएका थिए ।
बुधबार विहान मगरको सव भेटिएको स्थानमा पनि लिम्वु पुगेका थिए । प्रहरीले घटना स्थलबाटै उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरी श्रोतका अनुुसार गम्भिर प्रकृतिका अपराधका घटनाको अनुसन्धानमा अब्बल मानिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक कृष्ण कोईरालाले घटनाको जरै देखी अनुसन्धान गरेका थिए । समाचार श्रोतका अनुसार उनले आवेगमा नभएर पुर्व योजना अनुसार हत्या गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।
प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बुको संलग्नता पुष्टि भएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले भने हत्यामा अन्य कारण पनि हुनसक्ने बताउँदै अनुसन्धान जारी रहेको उल्लेख गरे । ‘यो विषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन राखेका छौं’, उनले भने ।
प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको स्रोत बताउँछ ।
प्रहरीले मगरको शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नं. १ प्रहरी कार्यालयबाट तालिम प्राप्त ट्याकर कुकुर मगाएको थियो । जसले आरोपी राजमार्गतिर भागेको संकेत गरेको थियो । त्यसपछि भने कुकुर अलमलिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।