Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

समयले नेतृत्वको खोजी आफैं गर्दो रहेछ

नेपाली राजनीतिमा नयाँ बहस आरम्भ भएको छ । निर्वाचनमा जो सुकैलाई बहुमत दिए पनि अब कसैलाई पनि पूर्ण कार्यकाल सरकार सञ्चालन गर्न कठिनाइ हुने रहेछ । जनता निकै निरासमा रहेका छन् । निर्वाचनको समयमा जनताले उत्साहका साथ आउने पाँच वर्षका लागि ओली सरकार जनताको ठूलो भरोसाको केन्द्र मानिएको थियो । त्यसमा पनि एमाले र माओवादी नै एकजुट भए पछि कसैको प्रतिष्पर्धी नै देखिएका थिएनन् । शासन सञ्चालन कलाको नेतृत्व नेपाली राजनीतिमा नेकपा एमालेले विकास गरेको ब्राण्डले काम गरेको पाइन्छ । जनताको मन जित्नु निकै कठिन काम भए पनि यो काममा एमालेले माले कालबाट नै जनपक्षीयको नामले राष्ट्रिय पञ्चायतको निर्वाचन २०४२/४३ सालमा नै पार्टीको तर्फबाट पठाइएका द्रोणाचार्य क्षेत्री, सोमनाथ अधिकारी प्यासी, जागृतप्रसाद भेटवाल, पद्मरत्न तुलाधर लगायतलाई निर्वाचनमा विजय भए बाटै सुरू भएको पाइन्छ ।

जनसरोकारका विषयमा जनपक्षीय समयबाटै निर्वाचनमा कम्युनिस्ट उम्मेदवारले खेलेको रचनात्मक भूमिका देखिन जन अननुमोदित हुदै आएको छ । जननेता मदन भण्डारीको दुरदर्शी राजनीतिक नेतृत्वले उहाँ सत्तासीन भएको छोटो समय मै पार्टीले छलाङ्ग मारेको थियो । उहाँको कुशल नेतृत्वले नै पञ्चायतको बिदाइ भएको थियो । भण्डारीको दुरदृष्टिकोणका कारण नै नेपालमा पुनः बहुदलीय संसदीय संविधान जारी गराउन सफल हुनु भएको पाईन्छ । विश्वमा ओरालो लागेको कम्युनिस्ट आन्दोलनलाई राजनीतिक र वैचारिक रुपले मदन भण्डारीको नेतृत्वमा अगाडि बढेको यथार्थतालाई जो कसैले पनि विर्सन मिल्दैन । अझ भन्ने हो भने मदनको दीक्षाले सुसज्जित नेता कार्यकर्ताको सुझबुझ पूर्ण नेतृत्वले २०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारको समयबाटै जनविश्वास चुलिदै आइरहेको थियो । तत्कालिन समयमा गृहमन्त्रीको सफल जिम्मेवारी सम्हालिसक्नु भएको वर्तमान प्रधानमन्त्रीले धेरै पछि मात्रै पार्टी र सरकारको नेतृत्वको अभिभारा लिएको देखिन्छ । उहाँले आफू पछिका धेरैलाई नेता मानेर तिनको नेतृत्व स्वीकार गर्दै उहाँले पार्टीको सबै तहमा बसेर काममा सघाएको इतिहास साक्षी रहेकोछ ।

समयले नेतृत्वको आफैं खोजी गर्दो रहेछ । केपीको अनुपस्थितिमा नेपाली राजनीतिको नियमित वहाब थुनिन्छ भन्ने कुरा पहिलो असफल संविधान सभाले पुष्टि गरि सकेको छ । २०७२ सालमा संविधान जारी हुनुमा वर्तमान प्रधानमन्त्रीको अहम् भूमिका रहेको सर्वविधितै रहेको छ । उहाँको देश प्रतिको स्पष्ट अडान, देश, जनता र परिवर्तन पछिको समर्पित भावनाले काम गरेकै कारणले छिमेकको हस्तक्षेपको बेवास्ता गर्दै पनि संविधान जारी भयो । छिमेकले संविधान जारी नगर्न गरेको अघोषित हस्तक्षेप पछि नै नाका बन्दी सुरु भयो । नाका बन्दीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानले गर्दा जनतामा त्यसको थप सकारात्मक प्रभाव परेको पाइन्छ । आफ्ना पार्टीका समर्थक शुभेच्छुक मात्र नभएर अन्य पार्टीका समर्थक शुभेच्छुक देखि नेता कार्यकर्ता सम्मले तत् समयमा उहाँको प्रशंसा गरेका थिए । नेपाली वामपन्थीहरुको लागि यो आकर्षणयुक्त सकारात्मक अभियान थियो । शायद त्यसैले सकारात्मक प्रभाव परेर नै स्थानीय तहको निर्वाचनमा गैह्र बामपन्थीसँग एकता गरेर आफन्तहरुलाई चुनाव जिताउनेहरुले पनि केपी शर्मा ओलीको यो सफलता हेरी रहेका थिए । त्यसैको प्रभावले एमाले माओवादी एकता हतारमा भए पनि सम्भव भएको थियो । यो गर्नु देशको हितमा थियो । त्यसैले असहमतिका खातिर पनि यसलाई वाम एकताको लामो चाहना बोकेका नेता, कार्यकर्ता र जनताले स्वागत गरेको पाईन्छ । यो एकता गर्नु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पटक्कै भुल थिएन भन्ने लाग्दछ । अध्यक्षको हैसियतले आफ्नो कर्तव्यलाई सफलता पूर्वक सम्पन्न गरेको मान्नु पर्दछ । उहाँले एमाले माओवादी एकतामात्रै सम्पन्न गरेको होइन, देशको हितको खातिर नै उहाँले जरुरी ठानेर अब नेपाललाई हिंसात्मक राजनीतिबाट मुक्त बनाउनु पर्छ भन्ने यथार्थ चाहना र हिंसात्मक बाटोको विकल्प नदेखेकाहरmलाई पनि विश्वास र भरोसा दिलाएर नै निरन्तर अधिकार प्राप्तिको नाममा हिंसात्मक बाटोमा हिडेका सिके राउतको र नेत्र बिक्रम चन्द (विप्लव)को सशस्त्र आन्दोलन बिसाउने वातावरण पनि उहाँले नै बनाएर सफलताको शिखरमा देश अगाडी बढिरहेको समयमा देशमा देखिएको राजनीतिक गतिरोधले यस समयमा यसको सत्यतथ्य जन समक्षमा राख्नु सान्दर्भिक नै होला भन्ने ठानेर यो लेख तयार हुन पुगेको छ । एउटै पार्टी भित्र पनि आन्तरिक अन्तर संघर्षले रापताप बढाएको समयमा कतिलाई उचित वा अनुचित जे लागे पनि यसको वास्तविकता केलाएर अगाडि बढ्नुको विकल्प देखिदैन । यति बेला सबैले प्रधानमन्त्रीको मात्रै दोष देखाएर आफू पानी माथिको ओभानो बन्ने हर्कत देखि विधि र पद्धतिको भ्रमपूर्ण कुराले पनि अनावश्यक होहल्ला मच्चिएको छ । के प्रधानमन्त्री ओलीले प्रतिगमनका लागि नै यो सबै काम गर्नु भएको हो त ? यसमा सत्यतथ्य कुरालाई तोडमोड गरेर देशलाई अस्थिरतातिर लैजान खेलिने कुनै पनि राजनीतिक वा सामाजिक गतिविधि कसैका लागि पनि क्षम्य हुन सक्तैनन् ।

एमालेको नवौं महाधिवेशनले ओलीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । दशौं महाधिवेशन नहुँदासम्मको समय ओलीको हो । त्यसैगरी २०७४ सालको आम निर्वाचनले ओलीलाई ठूलो पार्टीको हैसियत दिएको हो । त्यही हैसियतमा उहाँ प्रधानमन्त्री हुनु भएको हो । त्यस कारण अर्को आम निर्वाचनको नभएसम्मको समय पनि केपी ओलीको हो ।

अहिलेका कतिपय नेताले रोइलो काडेर प्रतिगमनमा देश लग्यो भने पनि यो पत्याउने कुनै पनि सत्यतथ्य आधार पाउन सकिदैन । अहिले प्रधानमन्त्रीको सत्तो सराप गर्नेहरु भन्दा सिनियर रहदा रहदै पनि राजनीतिक नेतृत्वका हिसावले केपी ओली पार्टीको कान्छो अध्यक्ष बन्नु भएको हो । २०३९ साल देखि २०४६ भाद्र महिनामा भएको नेकपामालेको चौथो महाधिवेशन हुँदा सम्म झलनाथ खनाल पार्टीको महासचिव भएर आफ्नो सात वर्षे कार्यकालमा उच्च तहबाट भूमिका निर्वाह गरिसक्नु भएको छ भने पुनः निर्वाचित अध्यक्षको पाँच बर्ष जोड्दा झण्डै १२ वर्ष पार्टीको नेतृत्वमा रहदै जनताको छोरा छोेरीले प्रयोग गर्ने उच्च पद प्रधानमन्त्रीको भुमिका समेत पुरा गरी सक्नु भएको छ । भूमिगत कालमा झलनाथ खनालपछि २०४६ भाद्र महिना देखि २०५० जेष्ठ ३ गते सम्म जननेता मदनकुमार भण्डारीले पौने चार बर्ष पार्टीको नेतृत्व गरेको पाइन्छ । दासढुंङ्गा हत्याकाण्डपछि नेतृत्व गर्नु भएका माधवकुमार नेपालले एकलौटी रुपमा २०६६ सम्म लागभग १६/१७ वर्ष पार्टीको सर्बोच्च पद महासचिवको पदमा रहेर काम गरिसक्नु भएको छ । नेपाल प्रधानमन्त्रीको पनि जिम्मेवारी सम्हालिसक्नु भएको छ । जनताको छोराले उपभोग गर्ने उच्च तहको कार्यकारी पदमा बसेर के कस्तो भुमिका निर्वाह गरेको थियो भन्ने कुरा सर्वविवितै रहेको छ । माधवकुमार नेपाल पछि पुनः झलनाथ खनाल निर्वाचित अध्यक्ष संसदीय दलको नेता र प्रधानमन्त्री भएर आ–आफ्नाे कार्यक्षमता र कार्यदक्षता देखाई सकेका अर्थात जनपरीक्षण भइसकेका नेताहरु हुनुहुन्छ ।

वर्तमानको समय नेकपा एमालेका अध्यक्ष एवं पार्टीका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समय हो । एमालेको नवौं महाधिवेशनले ओलीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । दशौं महाधिवेशन नहुँदासम्मको समय ओलीको हो । त्यसैगरी २०७४ सालको आम निर्वाचनले ओलीलाई ठूलो पार्टीको हैसियत दिएको हो । त्यही हैसियतमा उहाँ प्रधानमन्त्री हुनु भएको हो ।

जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनतामा नै जान्छु भन्नु प्रतिगमन हुदै होइन, हुनै सक्तैन । त्यसैले यो समय ओली समय हो भन्ने ठहर्छ । देशमा विकासले गति लिइरहेको समयमा, देशको स्वाभिमान र समृद्धि प्राप्ति उन्मुख समयमा डेट एक्स्पाएर भई सकेका नेता र नेतृत्वले निकालेको बखेडा निन्दनीय रहेको छ । प्रधानमन्त्रीलाई स्वतन्त्र रुपले काम गर्न नदिई अवरोध गर्ने काम नै अहिलेको राजनीतिक गतिरोधको जड हो ।

के ओलीको समयमा जस्तै अरुको समयमा पनि पार्टीमा खुट्टा तान्ने काम केपी ओलीबाट भएको थियो ? पुष्पकमल दाहाल, बाबुराम भट्टराई माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा पार्टीमा अध्यक्ष र प्रधानमन्त्री भए पनि देशका लागि, लोकतन्त्र र जनअधिकार प्राप्तिको लागि अहम् भुमिका खेल्न नसकेको कुरा जनतामा प्रस्टै रहेको छ । बरु पार्टी र सरकार यिनका कार्यकालमा असफल भएको कारणले जनतामा छाएको निरासालाई चिर्दै देशका सबै सुचाङ्कहरु सकारात्मकता तर्फ उन्मुख हुँदाहँुदै वर्तमान समयमा सरकारलाई असफल बनाउने र विरोधको नाममा नेपाल र नेपालीको हित नचाहने तत्वको सेवा गर्ने काम रहस्यको विषय रहेको छ । कायै शैलीका हिसावले प्रधानमन्त्री ओली र असहमतकर्ताको बिचमा आकास जमिनको अन्तर रहेकोछ । बुद्धि , क्षमता चेतना राजनीतिक संस्कार देखिन देश निर्माणको अभियानमा प्रधानमन्त्रीको अगाडि सवै दलका वर्तमान र पूर्वपदाधिकारीहरु फुच्चा सावित देखिन पुगेका छन् । भिजन र मिसनमा पनि ठूलो अन्तर पाउन सकिन्छ भन्ने व्यवहारले पुष्टि गरिसकेका छन् । पदका लागि केपी ओलीले असान्दर्भिक गठबन्धन गरेको पाइँदैन । जो अरmले बिभिन्न कोणबाट देखाएर यस अगाडि नै जनसमक्ष आइसकेका विषय हुन् ।

राजनीतिलाई गतिदिने कुरामा जननेता मदनकुमार भण्डारीको अहम भूमिका रहेको पाईन्छ भने देश विकासमा प्रधानमन्त्री ओलीको दुर भिजन “समृद्ध नेपाल : सुखी नेपाली” को लक्ष्य नेपाली राजनीतिमा कोशेढुंङ्गा सावित हुनेछ । ‘ल्याण्ड लकलाई ल्याण्ड लिङ्क’ नेपाल बनाउने दायित्व पनि केपी शर्मा ओलीको कर्मबाटै सम्भव भएको हो । सार्वभौम अधिकार जनसंख्या र भूगोलले निर्धारण गर्ने विषय होइन भन्ने विचारले हाम्रो जस्तो देशको लागि अत्यन्तै रणनीतिक महत्वको विचार हो । आज कोरोनाको सफल उपचार, २०७८/७९को बजेट आदि कुराबाट पनि भन्न सकिन्छ, जनताको नजरमा केपी ओलीको रति पनि लोकप्रियता घटेको छैन । अझै पनि प्रधानमन्त्रीका औपचारिक कमिकमजोरी देखाउन सबैले अवस्य पनि एक पटक सोच्नु पर्दछ । राजनीतिमा सबै प्रकृतिका असहमतीलाई आत्मसात गर्दै भए पनि यो समय ओलीका लागि पार्टीका नेता कार्यकर्ता देखि नेपाली जनताले दिएको समय हो । यसमा अवरोध गर्नेहरु जनताबाट ढिलो चाँडो दण्डित अवश्य हुनेछन् । विचार र कर्मशिलहरुलाई सहन गर्न नसक्ने नेपाली राजनीतिक नेतृत्वमा सुतुरमुर्गको रुपमा सुसुप्त रहेकाहरुको दुष्चरित्र हिजो पुष्पलाल, मनमोहन, जननेता मदनकुमार भण्डारीदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि यो चरित्रले घर गरेको पाईन्छ । कम्युनिष्टहरुमा मात्र नभएर नेपाली कांग्रेस लगायत अन्यमा पनि यो रोग रहेको छ । विपी, गणेशमान, कृष्णप्रसाद देखि शेरबहादुर देउवा सम्ममा आन्दोलनकारी पार्टीमा देखिएको यो अत्यन्तै घटिया चरित्रले काम गरेको पाइन्छ । आक्षेप लगाउनेहरुले आफ्नो आङको भैँसी नदेख्ने र प्रधानमन्त्रीको आङको लिखा देखाउने प्रयत्न नियोजित रुपमा निषेध केन्द्रित रहेको छ । आफू पनि भ्रष्टाचार नगर्ने देखि पुनःअर्को पटक सरकार र पार्टीको नेतृत्व नगर्ने सुस्पष्ट विचार पार्टीको नेतृत्व तह स्थायी कमिटि देखि सार्वजनिक स्थानमा राख्दा राख्दै पनि प्रधानमन्त्री माथि दोषारोपण गर्नु घोर अन्याय हो । उहाँलाई पुनः नेतृत्वमा रहनु पर्ने बाध्यात्मक परिस्थिति पनि उनीहरुको कारणले सृजित भएको विद्यमानको दोष पनि उनीहरुले लिनु पर्नेछ ।

सम्माननीय प्रधानमन्त्रीलाई हर क्षेत्रबाट घेराबन्दी गरेर काममा बाधा डाल्नेहरु कुनै पनि अर्थमा सही छन् भन्ने तथ्ययुक्त तर्क मान्न सकिँदैन । वर्तमानमा विभिन्न तथ्यहरुले बोलिरहेछन् यो समय ओली समय हो ।

जसरी घर परिवारमा हजुरबा हजुरआमा देखि नातिनातिना र पनातिपनातिना सम्मका विचारमा एक रुपता नभए जस्तै दलका नेताहरुमा पनि वैचारिक अन्तरहरु देखा पर्दछन् । यहाँ प्रधानमन्त्रीज्यूका पनि कतिपय कमिकमजोरी हुन सक्छन् । कमीको आलोचनामा सवैको स्वीकृति भए पनि आफू पनि काम गर्न नसक्ने र अरुले गरेको कामको पनि सकारात्मक रुपमा लिन नसक्ने नेपाली राजनीतिमा देखिएको विडम्बनापूर्ण अभिसाप नै मान्नुपर्ला । एक वा दुई पटक सरकार र पार्टीको नेतृत्व समाली सकेपछि उ अभिभावकको भूमिकामा बस्ने र पुन कार्यकारी हुन नपाउने व्यवस्थाको माग नै बृद्धहरु छोड र नेतृत्वमा युवालाई स्थापित गर भन्ने मागको मक्सद बुझ्न सकिन्छ । अहिले कुनै पनि पार्टीमा नेतृत्वको खडेरी छैन । एक से एक नेता कार्यकर्ता भएको दलीय व्यबस्थामा कुनै पनि पदहरुमा दोहोरो तेहरो नियुक्तिले नै भ्रष्टाचार र अनियमितता जन्माउनेछ । काम गर्नेलाई पूरा अवधि काम गर्न दिनु पर्दछ । पार्टीको अध्यक्ष, प्रधानमन्त्री भएको मानिस जो कोही भए पनि अभिभावकको भन्दा धेरै भूमिकामा बन्देज लगाउनु नै भविष्यमा पनि आउने द्वन्द्वको स्थायी समाधान हुन सक्नेछ । अहिलेको अनावश्यक किचलोका सुत्रधारहरु पाँच पूर्वप्रधानमन्त्रीहरु नै रहेका छन् । यो अवस्था हुनु ज्यादै दुःखको विषय हो । सम्माननीय प्रधानमन्त्रीलाई हर क्षेत्रबाट घेराबन्दी गरेर काममा बाधा डाल्नेहरु कुनै पनि अर्थमा सही छन् भन्ने तथ्ययुक्त तर्क मान्न सकिँदैन ।


(लेखक नेकपा एमालेका नेता एवं साझा प्रकाशनका महाप्रबन्धक हुनुहुन्छ)

कमेन्ट गर्नुस्

admin

Read Previous

झापामा पुनः निषेधाज्ञा थपियाे

Read Next

घट्यो ग्यास र चिनीको मूल्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *