Girl in a jacket

विद्यार्थी एकता दिवस – जिन्दावाद !

लेखक रञ्जित तामाङ, अध्यक्ष,अनेरास्वबियू (क्रान्तिकारी)

‘संसारका जस्तोसुकै मै हुँ भन्नेलाई घुँडा टेकाउन सक्ने शक्ति विद्यार्थी आन्दोलन मात्र हो,’ नेपालको सन्दर्भमा यो भनाइ चरितार्थ गरेको ऐतिहासीक दिन हो जेठ १, अर्थात आजकै दिन। यो दिनलाई नेपालको विद्यार्थी आन्दोलनले विद्यार्थी एकता दिवसको रूपमा मनाउने गर्छ।

१ जेठ २०२१ मा नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन राजा महेन्द्रबाट लादिएको पञ्चायती ब्यवस्थालाई आन्दोलनकै बलमा नामेट बनाएको थियो।

राजनीतिक स्वतन्त्रता, राष्ट्रियताको रक्षा र जनवादी शिक्षाको माग राखेर संगठित नेपालको विद्यार्थी आन्दोलनले तीस वर्षे पञ्चायती निरंकुशता फालेको छ, नक्कली प्रजातान्त्रिक ब्यवस्थाका तथाकथित विकृत संसदीय ब्यवस्थासहितको राजतन्त्र संग्रहालयमा थन्किएको छ।

त्यही विद्यार्थी आन्दोलनकै बलमा आज देश संघीय गणतन्त्र नेपाल बनेको छ। तर वर्तमान सरकार लामो त्याग, समर्पण र बलिदानको आलोकमा श्रृजित संविधान र यसका मूल मर्म भावना विपरित विदेशीको दलाली गर्दै प्रतिगमनको सेवक बनिरहेको छ।

यस राजनीतिक पृष्ठभूमिमा अग्रगमनका निम्ति त्याग बलिदान गर्ने ती महान शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै सबैखाले प्रतिगमन, प्रतिक्रान्ति र दलाली बिरूद्ध लड्ने प्रण गर्नु नै विद्यार्थी एकता दिवसको सान्दर्भिकता हुनेछ।

संविधानमा प्राप्त उपलब्धिको रक्षा

विगतको तुलनामा विद्यार्थी दिवसको महत्व आज झनै चुलिएको छ। देशी-विदेशी प्रतिक्रियावादको गठजोडमा संघीयता खारेज गर्ने प्रपञ्च रचिँदैछ। धर्म निरपेक्ष राष्ट्र उल्टाउने षड्यन्त्र हुँदैछ। समानुपातिक- समावेसी सहभागिता खारेज गर्ने प्रयत्न हुँदैछ, अन्तत, पुन: राजतन्त्र फर्काउने दुस्साहस गरिदैछ।

संविधानका यी मुलभूत विशेषता उल्टाउन ब्यवस्थामाथि अनास्था जगाउन, सामाजिक-सांस्कृतिक सहिष्णुता भड्काउन वर्तमान ओली सरकार नै लागिपरेको छ। यसको बलियो आधार यो सरकारको करीब तीन वर्षे रवैया हेरे पुग्छ।

संविधान विपरित प्रदेश प्रमुख हेरफेर, संघीयता खारेजीको धम्की, प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारको ‘ईकाई’ भन्दिने जस्ता कुराहरू यसका आधार हुन्।

अत: लामो संघर्षको बलमा जनप्रतिनिधिले संविधान सभामार्फत बनाएको संघीय गणतन्त्र नेपालको संविधानका मुल मर्म र भावना विपरित कुनै स्वेच्छाचारी शासकले ‘बयलगाडा’ सिद्धान्त लाद्न खोजे त्यसविरूद्ध संसद विघटन पछिको आन्दोलनले प्रतिगमनलाई घुँडा टेकाएझैं विद्यार्थी आन्दोलन जाग्नुपर्छ।

संविधानमाथि जुनसुनै बेला शासकहरूले असंवैधानिक कदम उठाउन सक्छन्। यदि फेरि त्यसोभए प्राप्त उपलब्धि रक्षा गर्न विद्यार्थी आन्दोलन हमेसा तयार रहनुपर्छ।

नक्कली राष्ट्रवाद

मौषमी राष्ट्रवादले पटक पटक जनताको आँखामा छारो हालेको छ। जीवनभरि दलाली गर्नेहरू नक्कली राष्ट्रवादको नारा उरालेर सत्तामा पुग्ने र सत्ता प्राप्त गरिसकेपछि प्रभु मानेर रिझाउने कथा हिजोआज मात्र देशले देखेको छ।

आफूलाई राष्ट्रवादी देखाएर राष्ट्रघातको एजेण्ट बन्नेको असलीयत देशले देखिरहेको छ। अभुतपूर्व राष्ट्रिय एकताबाट पारित लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको जमिन फिर्ता बेलाको फूर्ति र अहिलेको रबैया देशले नियालिरहेको छ। प्रधानमन्त्रीको आदेशमा रोकिएको चुच्चे नक्सासहितको छापिएर हराएको पाठ्यक्रम नयाँ पिँढीले खोजिरहेको छ।

देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा असर पर्ने भनि आफ्नै पार्टीले कार्यदल बनाएर कतिपय प्रावधान संशोधन गर्न दिएको सिफारिस विपरित एमसिसी पास गर्न रोईलो गर्नेको अनुहार देशले चिनिरहेको छ।

अरूलाई विदेशी एजेण्टको बिल्ला भिराएर आफ्ना विशेष दूतमार्फत उनीहरूसँग स्रोतसाधन सुम्पने गरि गरिएको आत्मसमर्पणको हिसाव जनताले आफ्नो डायरीमा नोट गरिसकेका छन्।

दिनमा राष्ट्रवादको गफ चुट्ने र मध्यरातमा विदेशी प्रतिनिधिसँग ‘मिड नाईट’ डिनर गर्नेको मखुन्डो उत्रिसकेको छ। भर्खरै सत्ता टिकाउन भएको खेलको ईतिवृतान्तले सबै कुरा दिनझैं छर्लंग बनाएको छ। यसर्थ विद्यार्थी आन्दोलनको अबको अभियान, नक्कली राष्ट्रवादीको भण्डाफोर र पहिचानका लागि हुनुपर्छ।

मौलिक अधिकार, संविधानको उपहार

सात दशक लामो संघर्षको दौरान विद्यार्थी आन्दोलनको अर्को महत्वपूर्ण उपलब्धि संविधानमा अंकित ‘स्वास्थ्य, शिक्षा र रोजगार, जनताको मौलिक अधिकार’, पनि हो। युगान्तकारी राजनीतिक परिवर्तनको जनआभाषका लागि शिक्षामा पर्याप्त बजेट विनियोजन गरि समग्र शिक्षाको पुनःसंरचा र पुनर्निर्माण गरि सरकारी र निजी जस्ता द्वैध शिक्षा प्रणालीलाई अन्त्य गरि संविधान बमोजिम शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ।

स्वास्थ्यमा सबै नागरिकको राज्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरि स्थानीय तहमा अस्पताल सञ्चालनसहित देशभर आधुनिक अस्पताल निर्माण गरि जनतालाई निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्छ। र रोजगारको अवसरका लागि राजनीतिक नेतृत्वकै अगुवाईमा युवा लक्षीत स्वरोजगार कार्यक्रम, उत्पादनका क्षेत्र पहिचान, औद्योगिकरण, कृषिको आधुनिकिकरण गरिनु युगान्तकारी परिवर्तन अनिवार्य सर्त हो।

नीति, विधि, कानुन बनाएर सरकारले यी काम पहिलो प्राथमिकतामा गर्नुपर्ने थियो। तर सरकार परिवर्तन संस्थागत गर्ने कामको प्राथमिकताभन्दा आफ्ना आसेपासे, दलाल रिझाउन केन्द्रीत रह्यो।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन गायव पार्ने, मौलिक हकप्रति उदासिनता साध्ने, तामझामपूर्वक शुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अलपत्र छाडेर विकास र समृद्धिका गफ चुट्ने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा भएको जस्ता झुट प्रचार गर्न सरकार व्यस्त छ।

कोरोना महामारीका कारण दैनिक सयौंको ज्यान गईरहेको छ। अस्पतालमा बेड नपाएर, अक्सिजन नभएर, आईसियु नपाएर, भेन्टीलेटर अभाव भएर हजारौं पीडामा छटपटाईरहेका छन्। निःशुल्कको त के कुरा घरबारी बेचेर उपचार गरेर बाँच्न चाहनेले दैनिक जीवन गुमाईरहेका छन्।

सिंगो समाज महामारीबाट मृत्युवरण गरेकालाई श्रद्धाञ्जली अर्पण गरिरहेको बेला देशको प्रधानमन्त्री अक्सिजन अभाव छैन, बेड अभाव छैन, उपचार अभाव छैन, कोरोना केही होईन, बेसार पानी र अम्बा (बेलौती) को पातले निको हुने तर्क गर्दै छोराछोरीको बधाई खानमै मस्त छन्।

यो महासंकटको घडीमा जनतालाई स्वयं सेवकीय सहयोग गर्न सिंगो समाजले हातेमालो गर्नुपर्छ ।

सरकारी बेवास्ता र उपेक्षा सरकारी नालायकी बुझेर त्यसबाट आशा राख्नु ब्यर्थ छ। हामी आफैं जुटेर महासंकट पार लगाऔ। बाँकी हिसाब उचित समयमा गरौंला।

गिर्दो आन्दोलनको साख: समीक्षा

सत्तालाई सडकबाट औंला उठाएर प्रश्न सोध्ने विद्यार्थी आन्दोलन आफैं अनेकौं प्रश्नबाट घेरिएको छ।

आजको विद्यार्थी आन्दोलन प्रतिगमनविरूद्ध सडकमा एकजुट हुन सक्दैन। सत्तालाई दबाब र प्रश्न खडा गर्न सक्दैन। आफैंले लडेर ल्याएको परिवर्तनको रक्षा गर्न सक्दैन भने विद्यार्थी आन्दोलन या त सकियो या त विद्यार्थी संघ/संगठनमा वास्तविक विद्यार्थी सकिए भन्ने हुन्छ। आज विद्यार्थी आन्दोलनमा एकतातर्फ मण्डले शैली पुनरावृत्त भएको छ। अर्को तर्फ संघ/संगठनहरू किंकर्तव्यविमूढ हुँदा विद्यार्थी आन्दोलनको साख गिर्दो अवस्थामा छ।

विगतमा जनताका हरेक सरोकारमा कोरस गाउने आन्दोलन आज दिउँसै टर्च बालेर खोज्ने स्थितीमा छ। राष्ट्रियताका मुद्दामा मौन छ, जनजिविकाका बारेमा मौन छ, शिक्षाका बेथितिबारे मौन छ, महामारीको यो बेला मौन छ। संविधान कार्यान्वयनप्रति उदासिनता छ। विद्यार्थी आन्दोलनलाई पुनर्ताजगी गर्ने, राजनीतिक बहसको थलो, युवापिँढीको नेतृत्व विकास गर्ने मञ्च स्ववियु निर्वाचनबारे अन्यौलग्रस्त छ।

हुँदाहुँदै भविष्यको पुस्तालाई समेत असर पर्ने कतिपय नीति र निर्णय यो सरकारले गर्दैछ। तर भविश्यको पुस्ता यसबारे बेखबर हुँदा आजको असक्षतमाको भारीले भविश्यको पुस्तालाई थिच्ने भय उत्तिकै छ।

यसकारण आजको विद्यार्थी एकता दिवसले आफूमाथिको प्रश्नको उत्तर दिँदै सत्ता र शक्तिको छायाँमा होईन, सडकमा जनतासँग उभिएर सत्ता र शक्तिलाई खबरदारी गर्ने बाचा गरौं।

शासकलाई जवाफ दिन बाध्य पार्ने गरि निरन्तर प्रश्न गर्ने साहस गरौं।

कमेन्ट गर्नुस्

admin

Read Previous

दुई जना मिलेर आफ्नै साथीकाे हत्या

Read Next

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ९१ वटा सवारी कार्वाहीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *