Girl in a jacket

(अन्तर्वार्ता) झापा ४ का संघिय सांसद पदका स्वतन्त्र उम्मेदवार प्रहरीकाे जागिर छाेडेर किन आए राजनीतिमा ?

  • शम्भु प्रसाद ढकाल उर्फ शम्भु सुस्केरा नेपाल प्रहरीमा चिरपरिचित नाम हो । नेपाल प्रहरीको संगठन सुध्रिढमा उनको नाम पनि आउने गरेको छ । झापाको कनकाई नगरपालिका वडा नम्बर १ प्रजापती स्थायी घर भएका शुस्केरा २० वर्षे नेपाल प्रहरीको सेवा सकेर घर फर्केका छन् । मुलुकका लागि केही गरौँ भन्ने आत्मबल उनको मनमस्तिस्कमा छ ।
  • पछिल्लो पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका लागि झापा क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फका उम्मेद्वार बन्ने घोषणा गरेका शम्भु प्रसाद ढकाल (शम्भु सुस्केरा) सँग सताक्षी न्युज टिमले गरेको विशेष अन्तर्वार्ता

नेपाल प्रहरीबाट अचानक राजनीतिमा आउनुभयो आकस्मिक हो की योजना ?

म प्रहरी मात्र होइन राजनीतिक चेत भएको एउटा लेखक पनि हो । सकेसम्म जानेर गल्ती गर्नुहुन्न, भ्रष्टाचार र घुसखोरी त झनै गर्नुहुन्न भन्ने विषयलाई व्रत बनाएर जागिर खाएको, कलम र अभियान दुवै चलाएको अनुशासित मान्छे हुँ । तर देश त त्यो बिचारबाट चलेन । एउटा संस्थाको केही व्यक्ति मात्र ठिक भएर देश ठिक गतिमा नचल्दोरहेछ । नागरिकले सुख सुविधा नपाउनेरहेछ । ३२ वर्षदेखि हामीले अनुभव गरिरहेको देश कता जाँदैछ कुन दिसातिर लाँदेछन् अगुवाहरुले ? यस्तो देख्दादेख्दै कोही चुपलागेर बस्न सक्छ ? कुनै पुस्ता त अगि सर्नै पर्थ्यो । त्यसैले म मात्रै होइन मजस्ता धेरै आएका छौँ । आगमन आकस्मिक वा योजनाभन्दा पनि बाध्यताको उपज हो ।



राजनीतिक अनुभव र जनाधार नभएका व्यक्तिहरुको समुहले यतिधेरै समस्याले जेलिएको राजनीति कसरी सुधार गर्न सक्छ ?

नेपालमा राजनीति धेरै भयो । राजनीति नभएको कुनै संस्था वा संगठन छैन । पछिल्लो समयमा सर्वोच्च अदालत र दलका नेताको धोति खुस्किएको त सबैले देखियो नि । तर उहाँहरुलाई आफ्नै लाज खुस्किएको थाहा छैन, लाज ढाक्ने त कुरै छाडौँ । त्यसैले अब देशको बागडोर राजनीतिक चेत भएको तर आजसम्म राजनीति नगरेको मान्छेले नै गर्नुपर्छ । तर ऊ इमानदार, नैतिकवान र अनुशासित हुनुपर्छ । काम गर्ने जाँगर भएको लोभ लालच नभएको मान्छे चाहिनेरहेछ भन्ने कुरा त हर्क साम्पाङ र बालेनले देखाइ नि होइन र ?

स्थानीय तह र संसदको भूमिका त फरक हुन्छ नि ?

त्यसैले त हामी एउटा राजनीतिक शक्तिकोरुपमा आएका छौँ । एउटा व्यक्ति संसदमा गएर केबल ५ वर्ष जागिर खाने वा सरकार ढलाउने र बनाउने कप्तानी बन्ने मात्रै हो । हामी एउटी आमाजस्तो भोकमा आफू नखाएर पनि खान दिने, रोगमा उपचार गर्ने, सन्तानले चाहेजति पढाउने र काम लगाउने ममतामयी सरकार बनाउँछौँ भनिरहेका छौँ । हामी अरुलाई सुधार्न भन्दा पनि आफू अगि सरेर बिकल्प बन्न आएका हौँ ।

यहाँ काङ्ग्रेसहरु छन् . कम्युनिष्टहरु छन् । ४ नम्बर क्षेत्रमा एमालेले धेरै मतान्तरले जितेको हो यसअघि पनि । यो कसरी सम्भव छ ?

हामी भन्दैछौँ पार्टी बदल्नु पर्दैन, भोट बदल्नुहोला । तपाईले भोट बदल्दा हाम्रो वर्तमान, बालबालिकाको भविष्य र देशको सार्वभौमिकताको रक्षा हुनेछ । यसबाट अर्को फाइदा भनेको हामीलाई भोट दिएर तपाईले आफ्नो पार्टी सच्याउन सक्नुहुनेछ । फेरि पनि आफ्नै पार्टीलाई जिताउनुभयो भने काम नगरे पनि हुनेरहेछ भन्ने बुझ्नेछ र फेरि पनि देश र नागरिकका लागि काम गर्ने छैनन् ।

लाखौँ युवा विदेशमा छन् । स्वदेशमा भएका युवा पनि बेरोजगार छन् । किसानहरु मल, बीउ न बाजरको अवश्थामा गुज्रिरहन्छन् ।
म त भन्छु यही अप्ठ्यारो र चुनौतिपूर्ण समयमा नेपालमा नै किन जन्मिएको छु म । किन अमेरिका, जापान वा युरोपमा जन्मिनँ । यसको पनि खास कारण होला । यही चुनौतिलाई अवसरकारुपमा बदलेर देश निर्माणको जस लिनका लागि समय दिएको उपज हो म र मजस्ता मान्छेहरु । तर आफूले आफू र समयलाई नचिनेर हामी दिनदिनै हेपिएका छौँ । पछि परिरहेका छौँ । अब युवाले विदेशमा मजदुरी गर्न होइन दुनियालाई योगध्यान सिकाउन जानुपर्छ । यसरी मनग्गे कमाउन सकिन्छ । ईस्लामिक र क्रिश्चियन देशहरुबाट नेपालमा योग गर्न मानिहरु आइरहेका छन् । योग पर्यटन र समग्र पर्यटनबाट रोजगार र समृद्धि हासिल गर्न सकिन्छ । देशको अथाह जल जमिन, जंगल, जनशक्तिबाट उत्पादन, रोजगार र निर्यात गरेर सम्पन्नता हासिल गर्न सकिन्छ ।

यो सबै गर्न त विदेशीलाई नै गुहार्नुपर्ने रहेछ त ? फेरी तपाइँहरूनै किन चाहियाे त जनतालाई र ?

हालसम्मका सबै शासक प्रशासकको सम्पति छानमिन गर्नुपर्छ । स्रोत नखुलेको सम्पति सरकारीकरण गर्ने र दोषीलाई आजीवन जेल हाल्नुपर्छ । बाध्यताले विदेसिएका युवालाई रहरले नेपाल फर्किने र स्वदेशमै लगानी गर्ने वातावरणसिर्जना गर्नुपर्छ । एउटा हाइड्रोपावर कंपनीले सर्वसाधारणलाई शेयर किन्न आह्वान गर्दा कति लाख मान्छेको हात खाली हुन्छ ? त्यसैले हरेक उद्योग धन्दा खोल्दा नागरिक र सरकारको लगानीमा खोल्नुपर्छ । जसले लगानी गर्न सक्दैन उसलाई त्यहिँ रोजगारी दिने र त्यहिँबाट लगानी गरिदिनुपर्छ । एउटा नेपाली कुनै उद्योगको मालिक र कर्मचारी दुवै हुनसक्छ र दोहोरो लाभ लिन्छ र धनी बन्न सक्छ ।

कुरा त सबैका मिठा र चिल्ला नै हुन्छन्, मतदाताले कसरी विश्वास गर्ने ?

हामी पुरानै प्रवृत्तिको नयाँ भर्सन होइनौँ । तपाईहाम्रा बालबालिकाले यो देशलाई आफ्नै देश ठानुन् यही देशमा गरिखाने वातावरण भेटुन्, २० वर्षपछि यो देश वृद्धाश्रम नबनोस् भनेर अघि सरेका हौँ । हामीलाई देश बिगार्ने वा आफू बिग्रिने छुट छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ वर्ष एकल सरकार चलायो नागरिक र देशको जीवनमा केही परिवर्तन दिन सकेन भने हिजो गरिएन अब गर्छौँ मौका दिनुस् भनेर फेरि अर्कोपल्ट आउनुभन्दा त साउनमा कनकाईको भेलमा हामफाल्दा नै उचित हुन्छ होला नि ।

हामीलाई थाहा छ । कमण्डलु बनाउने र कमण्डलु बोक्ने दुवै किन गरिब छन्, हलो बनाउने र हलो जोत्ने दुबै किन गरिब छन् ? झण्डा सिलाउने र झण्डालाई माया गर्ने दुबै किन गरिब छन् ? यसको समाधान खोज्नुपर्छ अब । कोही बिरामी पर्दा उपचार नपाएर मर्ने कोही सराकरी पैसामा विदेशमा गएर करोडौँ खर्च गर्ने, चिल्ला गाडि, चिल्ला सडक र आकासमा उँडिरहने कसैले झिलझिलेबाट विर्तामोड जानुपर्दा गाडिमा तिर्ने भाडा रिन काड्नुपर्ने किन हुन्छ ? यो अवस्थाबाट नागरिकलाई माथि उठाउनुपर्छ अब ढिलो भइसक्यो ।

तर तिनै नागरिकले तपाईलाई भोट दिन्छन् भन्ने छ र ? नेताहरुले गरिबीको फाइदा उठाउँदै आएका छन् ? जनतालाई पनि त दिक्क लाग्या हाेला नी ?

मलाई उचित प्रश्न राख्नुभयाे । ३२ वर्षदेखि आफू र आफ्ना सन्तानको सुखद जीवनको आश गरेर बसेका मान्छेले हामीलाई भोट हाल्दैन भनेर कल्पना पनि गर्न सकिँदैन । आफ्नै खुट्टामा जानीजानी कसैले बन्चरो हान्दैन । सत्य के हो भने आजसम्म गतिलो बिकल्प नपाएर हो । अब बिकल्प पाउनुभएको छ त्यसैले यो देशका भिआइपी अब किसान र मजदूर हुने दिन ल्याउनुपर्छ । नेपाली मौलिक संस्कृति, मौलिक खानपान र मौलिक जीवनशैलीलाई यो देशको सही परिचय बनाउनुपर्छ । निस्कलंक अदालत, बलियो सेना, स्वायत्त प्रहरी र आत्मविश्वासी नागरिक निर्माण गर्ने कार्यमा अब मतदाताको पुरा साथ हुनेछ ।

अन्त्यमा ?

हरेक बाआमाले एकपटक आफ्ना सन्तानलाई सोध्नुहोला । उनीहरु के चाहन्छन् ? विदेशीको दास वा आफ्नै देशको मालिक ? वकिल, प्रहरी, पत्रकार, इन्जिनियर, डक्टर, पाइलट, किसान, नर्स प्राध्यापक आदि नेपाललाई चाहिएको छ कि विदेशीलाई ? त्यसपछि भोट कसलाई दिने निर्णय गर्नुहोला । तसर्थ म त भन्छु “तपाईहरु मेरा लागि, म देशका लागि र देश तपाईका लागि” यो मन्त्र ख्याल गरौँ घण्टी चिन्हमा भोट हालौँ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

कांग्रेस नेता थेवेकाे गाँउ दाैडाहा : बैगुनधुरा र गौरिगञ्ज पुगेर के भने ?

Read Next

शिवसताक्षी नगरको शिवगञ्ज बजारमा छड्के अनुगमन

One Comment

  • म पनि यसै निर्वाचन क्षेत्र को मतदाता हु । कुनै दल,या बाद प्रति झुकाब नराखी स्पष्ट भन्नु पर्दा झापा ४ कम्युनिस्ट गढ मानिन्छ । यसमा पनि एमाले को पकड एरिया हो । म जत्तिको समाजिक सञ्जाल मा पहुँच राख्ने र राजनीति मा चासो राख्ने ले त उहाँको बारे मा अनबिज्ञ थिए भने बर्षौ देखि सुर्य र रुख मा भोट हाल्दै गरेका मतदाता को मत आफु तर्फ पार्न लरतरो सक्रियता ले संभव सायदै नहोला । यसो भनिरहदा पुरानै दल हरु का उमेदवार लाई जिताउने अभिप्राय मेरो होइन केबल सचेत मात्रै गराएको । जित्नुहोस शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *