शिवगञ्ज /शिवसताक्षीमा बुधबार आकस्मिक बजार अनुगमन गरिएको छ । वडा नम्बर ६ को शिवगञ्ज बजारमा नगरपालिकाको बजार अनुगमन समितिले आकस्मिक बजार अनुगमन गरेको हो ।
नगर उपप्रमुख नरमाया कार्कीले नगरबासीको खाद्य सुरक्षाका लागि बजार अनुगमन गरिएको बताइन् । उनले भनिन, ‘अब पहिले भन्दा बजार अनुगमनमा कडाइ गरिनेछ ।’
बजार अनुगमन समितिले अनुगमनका क्रममा उपभोक्ता हित बिपरितका कुनै कार्य भएको भेटिए कानुनी कारबाहीका लागि मार्ग प्रसस्त गर्ने उपप्रमुख कार्कीले जानकारी दिएकी छन् । साविकका वर्षहरुमा चाडपर्व नजिकका समयमा मात्र बजार अनुगमन हुने गरेकोमा यस वर्ष यो परम्परा तोड्दै नियमित अनुगमनलाई प्राथमिकता दिन थालिएको शिवसताक्षी नगरका राजश्व शाखाका प्रमुख बद्री दाहालले बताए ।
नगरले कार्यसूची बनाएर नियमित तर छड्के रुपमा बजार अनुगमन गरिने राजश्व शाखाले जनाएको छ । अनुगमन टोलीले अखाद्य बस्तु फेला परेमा सिधै जफत गरी नष्ट गर्ने अख्तियारी लिएको छ । बजार अनुगमन टोली उपभोक्ताका पक्षमा कठोर बन्ने निर्णयमा पुगेको उपप्रमुख कार्कीले बताइन् ।
‘मूल्य सूची नराखेका, नियमक निकायमा दर्ता र नविकरण नगरेका व्यवसायीहरु नगरको निगरानीमा हुने छन्,’ उनले भनिन् । अनुगमन टोलीले खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, औषधि, मासु , बेकरी लगायतका पसलमा अनुगमन गरेको थियो ।
अनुगमनमा इलाका प्रहरी कार्यालय शिवगञ्ज, स्वास्थ्य शाखाका संयोजक संजय ठकुरी, राजश्व शाखाका कर्मचारी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि, बाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता थियो ।