Girl in a jacket

घण्टौं लाइनमा उभिएर पनि खोप नलगाई फर्किए वृद्धवृद्धा

सतासीधाम स्वास्थ्यचौकी दूधेमा आइतबार विहान ८:०० देखिएको वृद्धवृद्धाको लाइन । यो केन्द्रबाट वडा नम्बर ८, ९, १० र ११ का ५५ वर्ष उमेरसमूह माथिका बासिन्दाले खोप लगाउने कार्यक्रम थियो ।

झापा / कोभिड १९ विरुद्धको खोप लगाउन आईतबार बिहानैदेखी लाइनमा बसेका लक्षित उमेरसमूहका बृद्धबृद्धाले अस्तव्यस्तका कारण खोप लगाउन नपाएको बताएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को सतासीधाम स्वास्थ्यचौकी, ६ को प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, वडा नम्बर ४ को स्वास्थ्यचौकी पाँचगाछी र धरमपुर स्वास्थ्य चौकीमा खोप लगाउन गएका सयौ संख्याका वृद्धवृद्धा खोप बिना रित्तो हात फर्किएका थिए । सतासीधाम स्वास्थ्यचौकीमा आइतबार विहान १० बजेदेखि खोप लगाउने कार्यक्रम थियो ।

विहान ८ बजे नै ७ सय खोप लगाउने लाभग्राहीको नागरिकता संकलन भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सञ्जय ठकुरीले बताए । ‘करिब ४०० जना खोप लगाउन आएर पनि पाउनुभएन,’ उनले भने । उनका अनुसार अत्यधिक भीडका कारण समयमै खोप लगाउन आएरपनि छुट्नु भएका उहाँहरुलाई सोमबार विहान १० बजे बोलाइएको छ ।

सरकारले यसअघि भेरोसेलको खोप लगाउन छुटेकालाई आइतबार खोप लगाउन लगाउन सूचना जारी गरेको थियो । शिवसताक्षी नगरपालिकाले पनि सोही अनुरुप खोपका लागि साविककै खोप केन्द्रमा खोप लगाउन ५५ वर्ष उमेर समूहका नागरिक लाई खबर गरेको थियो ।

तर, लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौँले खोप लगाउन नपाइ फर्कनु परेको स्थानीयवासीले बताए । खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि नगरको व्यस्थापनदेखि आक्रोशित बने । उनीहरुले व्यवस्थापन फितलो भएका कारण आफुहरुले दु:ख पाएको गुनासो गरे ।

शिवसताक्षी ११ की होमकुमारी अधिकारीले बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाइनन् । उनले भनिन्, “बेसरी गाह्रो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबैको स्थिति बेहाल थियो । तातो घाम त्यसमा पनि भूई बाहेक बस्ने ठाउँ नै थिएन । योभन्दा मानिसको बिजोग अरु के हुन्छ ।’

कतिपय वृद्धवृद्धाले बिहानको खानापनि नखाइ खोप लगाउन आएका थिए । ‘छिट्टै होला भनेर खाना खानु त के कुरा पकाउनपनि नपकाई आए । बिहानको ११ बजी सक्यो । ८ बजे लाइनमा दिएको नागरिकताको फोटोकपीको पालो अहिलेसम्म पनि आएन,’ उनले लाइन छोडेर विरक्त मान्दै भनिन् ‘बरुपछि रोगले मारोस् । आजै यस्तो खप्नु न खानु भएर चै नमरियोस् । भो चाईदैन सरकारको भ्याक्सिन ।’

प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज बाट ६ सय५१, स्वास्थ्य चौकी सतासीधामकाे खाेप केन्द्रबाट ६सय ३९, स्वास्थ्यचौकी धरमपुरको खोप केन्द्रबाट ५ सय २० र स्वास्थ्यचौकी पाँचगाछी खाेप केन्द्रबाट ५ सय ९ जना गरेर कुल २ हजार ३ सय १९ जनाले खोप लगाएका थिए । यस्तै दोस्रो डोज भने १८ जनाले लगाएका थिए । तीनदिनकाे खाेप कार्यतालिका सार्वजनिक गरेकाे नगरकाे पहिलाे दिननै ४९.०९ प्रतिशत खाेप खर्च भइसकेकाे स्वास्थय संयाेजक हरि बिमलीले बताए । नगरमा जम्मा ४ हजार ७ सय ६० खाेप उपलब्ध भएकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

बिर्तामाेड खाेप प्रकरणकाे छानबिन समिति गठन,पेट्रोल पम्पका कर्मचारीले चाराली डिपोबाट खोप पाउने

Read Next

कोभिड विरुद्धको खोप : हात्तीका मुखमा जिरा, कनकाईमा अपुग हुँदा रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *