मन्जिल नेपाल, दुधे / झापाको शिवसताक्षीमा जारी वडा स्तरिय नकआउट फुटवलको फाइनल आज हुँदैछ । वडा नम्बर ९ मिलन चोक उत्तरको खेलमैदानमा वडा नम्बर ८ र वडा नम्बर ११ उपाधीका लागि भिड्नेछन् । फाइनल खेल ३ बजे सुरु हुनेछ ।
आज दुवै टोली जित निकाल्दैँ उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रने छन् । विजेताले ५१ हजार तथा उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । क्वाटर फाईनल खेलमा वडा नम्बर २ लाई २—१ गोल अन्तरले हराउदैँ वडा नम्बर ८ सेमिफाईनलमा प्रवेश गरेको थियो । फाइनल यात्राका लागि वडा नम्बर ८ ले वडा नम्बर ९ लाई २-१ गोल अन्तरले हराउँदै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेका थियो ।
यता वडा नम्बर ११ ले वडा नम्बर १ लाई २-१ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । फाइनलका लागि वडा नम्बर १० लाई २-१ गोल अन्तरले पाखा लगाएपछि वडा नम्बर ११ काे फाइनलमा वडा नम्बर ८ संग भेट हुने भएको हो ।
आज उपाधीका लागि भिड्ने वडा नम्बर ८ र वडा नम्बर ११ दुवै वडा फुटवल क्षेत्रमा नगरमा ख्याती कमाएका वडा हुन् । प्रदेशमा हुने हरेक नकआउट फुटवलमा शिवसताक्षीको वडा नम्बर ८ र ११ को बलियो उपस्थित हुने गरेको छ । वडा स्तरिय नकआउट फुटवलका आज हुने फाइनलमा कुन वडाले बाजी मार्ने विषयमा खेलाडी र टिम व्यवस्थापन बाहेकका दर्शकले केहि अड्कल काट्न सकेका छैनन् । क्वाटर र सेमिफाइनलको खेल हेरेका दर्शकले भने वडा नम्बर ८ र ११ दुबै उपाधीका लागि बलियो दावेदार रहेका छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मिलन चोक उत्तरको खेल मैदानमा सुरु भएको प्रतियोगिताका विजेताले प्रमाण पत्र, ट्रफी, मेडल र नगद ५१ हजार पाउने छ । यस्तै उपविजेताले पनि २५ हजार सहित अन्य पुरस्कार पाउनेछ ।
आयोजक समितिका सचिव पवन राईका अनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय, सर्वाधिक गोल कर्ताले २ हजार पाउने छन् । प्रतियोगिताको म्यान अफदी म्याचका विजेताले ५ सय पाउने छन् ।
हङकङ ग्रुपबाट पहिलो र स्थानीय समाजसेवी अग्नी राईले दोश्रो पुरस्कार आयोजकलाई सौजन्य गरेको आयोजक समितिले जनाएको छ । यो संगै शिवसताक्षी नगरपालिका वडा नम्बर ९ ले पनि १ लाख सहयोग गर्ने आयोजकले बताएको छ ।
वडा नम्बर ११ का टिम म्यानेजर तपन गुरुङले अनुभवी खेलाडी र धेरै ठाँउमा फुटबल खेलेर उपाधी रक्षा गर्न सक्ने टिम वडा नम्बर ११ भएकाले आफ्नो टिमले जित्ने बिश्वास रहेकोे बताए । शिवसताक्षीको दुधेमा संचालित दिलमाया स्मृति फुटबलको डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर ११ यो खेलमा पनि खेलाडीहरुले उत्कृष्ट खेल्ने उनले जानकारी दिए । वडा नम्बर ११ का वडा अध्यक्ष वहादुर आङवोले आजको फाइनल खेलमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ पनि फाइनल खेलमा मैदान उत्रिने जानकारी दिए ।
यता वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेवादिनले आाफ्नो वडाका खेलाडीहरु फाइनल खेलको लागि फिट भएको प्रतिकृया दिएका छन् । उनले भने,‘ उपाधी वडा नम्बर ८ कै पोल्टामा हुनेछ ।’
नयाँ रणनीतिको साथ मैदानमा उत्रिने र यो खेल जित्ने कुरामा आफु विस्वस्त भएको वडा अध्यक्ष फेवादिनले बताए ।