Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

शिवसताक्षी ५ को टोलटोलमा पुग्यो सडक, चार वर्ष यता फेरियो रङरुप

शिवसताक्षी / शिवसताक्षी नगरपालिका वडा नम्बर ५ की दुरवती राजबंशी बिहीबार नागरिकता प्रमाण पत्र बनाउन सिफारीस लिनलाई वडा कार्यालय जनता बजार आइन् । वाबुको नागरिकता प्रमाण पत्र, श्रीमान्को नागरिकता, बिवाह दर्ता प्रमाण पत्र, शैक्षिक योग्यताका प्रमाण पत्रका प्रतिलिपि संलग्न राखेर वडाकार्यलयबाट प्राप्त अनुसुची फारममा आफ्नो विवरण भरेर वडा अध्यक्षलाई बुझाइन् ।

उनलाई यतिकाम गर्न १५ मिनेट लागेको थियो । वडाबाट जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस भयो । उनले इलाका प्रशासान कार्यालय दमकबाट दिउँसो २ बजे नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन् । अरु कसैबाट सुनेकी थिइन्, ‘सरकारी काम ढिलो हुन्छ भनेर । तर त्यस्तो होइन रहेछ,’ उनले भनिन् । विहान घरबाट निस्कीएपछि बाटाको समय कटाएर १ घन्टामै नागरिकता पाउँदा उनि मख्ख परिन् ।

सेवाग्राहीको काम प्रति जनप्रतिनिधि जवाफदेही र अधिकतम उत्तरदायित्व भएकाले सर्वसाधरणले जुनसुकै सरकारी कार्यालयबाट दुःख पाउनु पर्देन भन्ने यो एउटा उदाहरण हो । वडा कार्यालयमा हाम्रो टिम पुग्दा १०.५ बजेको थियो । वडा अध्यक्ष सत्य नारायण राजबंशी आफ्नै कार्य कक्षमा व्यस्त थिए । वडा सचिव खेम दुलालपनि पञ्जिकरणको काम गरिरहेका थिए ।

अन्य जनप्रतिनिधि पनि वडा कार्यालयमा आउने जाने क्रम गरिरहँदा रहेछन् । कृष्ण ताजपुरिया, यामनाथ उप्रेती, सीता खडका र रीमा बिक वडा कार्यपालिका सदस्य एकपछि अर्को गर्दे आए ।

हामीले वडा कार्यलयमा अर्का सेवाग्राही पनि भेट्यौं । उनि थिए दिपककुमार राई । उनका अनुसार स्थानीय सरकार गठन भएपछि शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का सबै कच्चि सडक ग्राभेल भए । एउटा टोलबाट अर्को टोल सम्म पुग्नका लागि सडक निर्माण भएको छ । वडाका सर्वसाधरण हिलाम्मे सडकमा हिड्नुपर्ने समस्या हटेको छ । उनले भने, ‘वडाले ४ वर्ष यता रङरुपनै फेरेको छ ।’

सालमाराका तुलसीराम सुवेदीले गुप्तेश्वर कृषी फर्म नै दर्ता गरेर व्यवसायीक रुपमा बाख्रा, गाई, तरकारी खेती र माछा पालन गर्ने योजना बनाउन थालेका छन् । वडाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याएपछि उनि वडाको कार्यक्रमप्रति आकर्षीत भएका हुन् ।

घरेलु ताथ साना उध्योग कार्यालयले वडाले गरेको सर्जमिन सिफारिस खोजेपछि सुवेदी वडा कार्यलयमा आएका थिए । उनले भने, ‘पैसाका लागि वर्षो विदेश बसेर जीवनको उर्वर उमेर उतै विताए । तर, पैसा कमाउन सकिन । वडापालिकाले किसानलाई प्रोत्साहन गर्न आर्थिक लगानी गरेर आत्मनिर्भर बनाउन कार्यक्रम ल्याएपछि विदेश जान छोडेर कृषी पेसालाई व्यवसायीक बनाउने योजना बनाउन थालेको छु ।’

शिवसताक्षी नगरपालिका वडा नम्बर ५ साविकको पाँचगाछी गाविस वडा नम्बर २, ५, ८ र ९ नम्बर वडाबाट बनेको हो । यो वडाका ६५ प्रतिशत जनसंख्या कृषि पेसामा आवद्ध छन । वाँकी ३५ प्रतिशत अति विपन्न वर्गका मानिस र सुकुम्बासी हुन् । ५ हजारको हाराहारीमा जनसंख्या रहेको वडा ९.५५ बर्ग किलोमिटरमा फैलिएको छ ।

वडा अध्यक्ष सत्यनारायण राजबंशीका अनुसार वडामा आधारभूत आवश्यक्ता स्वास्थ्य, शिक्षा, संचार, सडक, बिजुली, खानेपानी लगायतका पुर्वाधार निर्माण भइसेको छ । वडामा बालकल्याण आधारभुत विद्यालय र सुर्योदय आधारभुत विद्यालय सहित संस्थागत सुर्योदय अंग्रेजी स्कुल पनि छ । यस वडाका कक्षा ८ सम्मका विद्यार्थी यीनै विद्यालयमा अध्ययन गर्छन भने माध्यमिक र उच्चतहका लागि शिवगञ्ज जाने गरेका छन् ।

वडालाई पूर्वको कनकाइ र पश्चिम तर्फको कमल बनियानी नदीको कटानले वर्षेनी दुःख दिइरहेको छ । यो सहित बर्खामा आउने भेलले वडाबासीका खेति योग्य जमिनलाई क्षति गरेर धाँदर बनाउने गरेको छ । वडासमितिका अनुसार वडाको सबै भन्दा ठुलो चुनौतीका रुपमा नदि कटान, डुवान र त्यसबाट हुने मानवीय क्षती नै हो । भौगोलिक हिसावले निकै विकट र पीडित अनि कम आय भएका नागरिकको वसोबास भएको वडा हो यो ।

वडाको अर्को समस्या भनेको सुकुम्बासीको व्यवस्थापन गर्न नसक्नु हो । कनकाइ नदिले यस अघि कटान गरेर विस्थापित बनेका परिवारलाई सरकारले व्यवस्थापन गर्न नसक्नु वडामा ठुलो समस्या रहेको वडापालिका सदस्य कृष्ण ताजपुरियाले बताए । उनले भने, ‘उनिहरुको लगत संकलन गरेर नगरमा पठाउने योजना वडाले बनाएको छ । अब, चाडै यो समस्या को समाधान हुने छ ।’

कनकाइको कटानले विस्थापीत बनाएका २६ घर परिवार कनकाइ नहरको बाँधमा बर्साँेदेखी छाप्रो हालेर बसिरहेका छन् ।
वडा पालिकाले हाल सम्म ६ किलोमिटर कच्चि सडक निर्माण गरेको छ भने ३६ किलोमिटर कच्चि सडक स्तरउन्नती (ग्राभेल) गरेको छ । वडा अध्यक्ष राजबंशीका अनुसार वडाको हात्तिसार देखी बिश्वडुवा सम्म ४ किलोमिटर सडक संघिय सरकारको समपुरक बजेटबाट कालोपत्रे भएको छ । यो सडक नगर गौरव योजना अन्तर्गतको रिङ रोड हो ।

वडापालिकाको सक्रियतामा संघिय र प्रदेश सरकारले १५÷१५ लाख र जिल्ला समन्वय समिति झापाले ४० लाख गरेर कुल ७० लाखको लागतमा वडाको आफ्नै भवन निर्माणाधिन अवस्थामा छ । वडा सचिव खेम दुलालका अनुसार सम्भवत बैसाख १ देखी नयाँ भवनबाट वडा पालिकाको कार्यालय संचालन हुनेछ । वडापालिकाले आफ्नै जग्गामा खोप केन्द्रको भवन पनि निर्माण गरेको छ । सोहि केन्द्रबाट वडाबासीले स्वास्थ्यको सेवाको सुविधा र परामर्स लिनथालेका छन् ।

वडामा हाल सम्म १ करोड ९० लाख रुपैयाँ वडा सिलिङ बजेट खर्च भईसकोछ । वडा अध्यक्ष राजबंशीका अनुसार स्थायी पुर्वाधार निर्माण, कृषी, स्वास्थ्य, शिक्षा, विद्युत, लक्षित समुदालयको स्तर उन्नती, लगायतका विषयमा खर्च भएको हो । यी सबै वडाकार्यपालिकाले कानुनत निर्णय गरेपनि टोल टोलबाट सर्वसाधरणले सिफारिस गरेका योजना हुन् । वडापालिकाले गरेका हरेक योजनामा वडाबासी सन्तुष्ट छन् । स्थानीय भन्छन ‘वडा अध्यक्ष सत्यनारायण वास्तवमा नाम अनुसारकै सत्यको पक्षमा छन् ।’

२ पटक धान, मकै, गहुँ लगायतका खेती हुने सो वडामा ६५ प्रतिशत किसानले तरकारी खेतीलाई प्राथमिकता दिने गरेका छन् । अधियाँ, ठेक्का, बन्दकी वा लिजमै लिएर भएपनि बिपन्नले तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । वडाको तरकारी खेती जिल्लाका ठुला बजार विर्तामोड, दमक, सुरुङा, झिलझिले सम्म विक्रीका लागि पुर्याइने गरिएको किसानले बताएका छन् ।

वडापालिकाले वडामा संचालन हुने वडा, नगर, प्रदेश र संघिय सरकारका हरेक योजना कार्यान्वयन गर्दा वडाबासीको राय सुझाव संकलन गर्ने गरेको छ । स्थानीय भन्छन, ‘वडाले हरेक योजनामा स्थानीयको राय सुझाव संकलन गरेर लैजाने, अनि त्यसैका आधारमा विकास निर्माणका काम हुने गरेका छन् ।’

उपभोक्ता समिति गठन गर्दापनि सेवा क्षेत्रका वडाबासीको आम भेलाबाट छनौट भएका सक्षम वडाका नागरिकले योजनाको नेतृत्व गर्ने गरेका छन् । नेपाली कांग्रेसका सक्रिय सदस्य मनकुमार ताजपुरियाको अध्यक्षतामा आम्बाडी चोक देखी पश्चिम रिङरोड जोडने सडक ग्राभेल भयो । नेपाली कांग्रेसकै अर्का सदस्य देवी संग्रौलाको अध्यक्षतामा कटुवाल चोक बाट पूर्व माईखोला सम्मको सडक ग्राभेल भयो । वडाको जनता बजार देखी भेलामुनी सम्मको सडक पनि जगत ताजपुरीयाको नेतृत्वमा भयो । यस्ता सयौ योजनाका उपभोक्ता समितिहरु नियमावलीलाई टेकेर वडामा गठन भएका हुन् ।

वडा अध्यक्ष राजबंशी भन्छन, ‘वडा मा जति पनि योजना संचालन भएका छन् ति सबै तोकिएको समय भन्दा कम्तिमा २ महिना अघि नै निर्माण सम्पन्न भएका हुन् ।

वडाका योजना र हरेक गतिविधिमा वडाका राजनीतिक दल एक ठाँउमा उभिने गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी, लिम्बुवान लगायतका पार्टी मिलेरै वडाको विकास सम्भव भएको बताउँछन स्थानीय जगत ताजपुरिया । उनि भन्छन, ‘शिवसताक्षी नगरपालिका वडा नम्बर ५ उज्यालो गोरेटोमा लम्किरहेको छ । राजनीतिक दलको मेलमिलाप हेर्ने हो भने शिवसताक्षी नगरपालिका वडा नम्बर ५ अन्य पालिकाका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ ।’

वडाको न्यायिक समितिले हालसम्म करिव ३ सय ५० वटा विभिन्न प्रकृतीका मुद्धा फरस्योट गरेको छ । वडा कार्यपालिकाका सदस्य सबैले आफ्नो आफ्नो टोलको मुद्धा हेर्ने गरेका छन् । वडामा साँध सिमाना, आर्थिक लेनदेन, गाली वेइजती, कुटपिट, मानहानी, अनैतिक संबन्ध लगायतका मुद्धा आउने गरेका छन् । यो बाहेक घरेलु हिंसाका विषयहरु जस्तै श्रीमान्बाट श्रीमती पिडीत र श्रीमतीबाट श्रीमान् पीडित भएका मुद्धापनि आउने गरेका छन् ।

वडा अध्यक्ष राजबंशीका अनुसार वडामा कुल मुद्धाको ५ प्रतिशत पत्नि पीडित मुद्धा आएका छन् । सम्बन्ध विच्देद नै गर्ने गरि वडापालिका आएका श्रीमान् श्रीमती मिलेर घर फर्कदा आफुहरुलाई आनन्द आउने गरको महिला वडा सदस्य सीता खड्काले बताइन् ।

वडापालिकाकी अर्की सदस्य रीमा विक पनि समुदाय प्रति निकै जिम्बेवारी ढंगले लागिपरेकी छन् । घरको काम काज सकेर वडा कार्यालय जाने अनि वडाबासीकै अभिभावक भएर वडालाई कसरी अघि बढाउने भनेर छलफल चलाउने गरेकी छन् । उनले भनिन् ‘वडा कार्यपालिकाका हामी सदस्य सफल हुनु भनेको वडाबासीको माया, ममता र प्रेरणा नै हो ।’

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

गुणस्तरीय शिक्षाका लागि शिक्षककै गुणस्तर बढाउनुपर्छ : प्रधानमन्त्री ओली

Read Next

एमाले र माओवादी केन्द्र एक्ला-एक्लै निर्वाचन लडेका भए के हुन्थ्यो परिणाम?

Leave a Reply

Your email address will not be published. Required fields are marked *